प्राधिकरणको वेबसाइटमा गलत तथ्यांक

२०७३ चैत्र ११ गते, शुक्रबार

काठमाडौं, ११ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेबसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्यांक राखिएको छ । प्राधिकरणको वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको संख्या ४१ हजार ३११ छ । यो संख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्राधिकरणको वेबसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्यांक आवरण पृष्ठमै छ । प्राधिकरणका प्रवक्ता यामलाल भुसाल नै त्यति घर नबनेको बताउँछन् । ‘वेबसाइटमा गलत तथ्यांक छ, त्यति घर बनेका छैनन्, अब त्यसलाई हटाइन्छ’–उनले भने ।
सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्यांकअनुसार निर्माण सम्पन्न घरको संख्या दुई हजार चार सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए । ‘आजसम्म निर्माण सुरु भएको घर संख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गरिएकाको संख्या पाँच हजार ७३०, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको संख्या ३३९ छ’–उनले भने । मन्त्रालयअन्तर्गत् जिल्ला–जिल्लामा खटिएका इन्जिनियरले एकाइमा पठाएको तथ्यांकअनुसार हालसम्म १६ हजार ५१५ पीडितले अनुदान पाउनुअगावै घर निर्माण सम्पन्न गरेका छन् । मन्त्रालयको यो तथ्यांकसँग प्राधिकरणको वेबसाइटमा राखिएको तथ्यांक मिल्दैन ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका करिब ९ लाख घर पुनःनिर्माण गर्न सहयोग गर्ने उद्देश्यले गठन गरिएको प्राधिकरणले तथ्यांकमै बनाएको देखाएर पीडितको घर नबन्ने खतरा बढेको प्रभावित जिल्लाका स्थानीयवासीको गुनासो छ । प्राधिकरणका कार्यकारी सदस्य डा. हरिराम पराजुलीले सहरी विकास मन्त्रालयबाट आउने तथ्यांक नै सही भएको बताउँछन् । ‘आधिकारिक तथ्यांक सहरी विकास मन्त्रालयबाट आउने हो, त्यसबाहेकको तथ्यांक गलत हो’–उनले भने । प्राधिकरणजस्तो संस्थाले प्रचारकै लागि बढी घर बनेको देखाउन गलत तथ्यांक वेबसाइटमा राखेको छ । यो तथ्यांक कुन स्रोतबाट आएर राखेको त्यसको जवाफ प्रवक्ता र कार्यकारी सदस्यले दिन सकेनन् ।
लाप्राकमा नमुनाबस्ती निर्माण गर्न प्राधिकरणको स्वीकृति :
प्राधिकरणले गोरखाको लाप्राकमा नमुनाबस्ती निर्माण गर्न गैरआवासीय नेपाली संघलाई स्वीकृति दिएको छ । प्राधिकरणअन्तर्गतको भूकम्पप्रतिरोधी निजी आवास मापदन्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्पप्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा संघलाई नमुनाबस्ती निर्माण गर्ने स्वीकृति दिएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिब ६०० नमुना घरका लागि भूकम्पप्रतिरोधी डिजाइनमा केही परिमार्जन गरी पेस गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६०० नमुना घर बनाउने घोषणा गरेको थियो । करिब रु ३५ करोडको लागत अनुमान गरिएको लाप्राक नमुनाबस्ती आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्ने संघको योजना छ ।
यसैबीच, प्राधिकरणका कार्यकारी सदस्य पराजुली संयोजक रहेको समितिले मापदन्ड नपुर्‍याइ बनाइएका घरलाई प्रवलीकरण गरी तोकिएको मापदन्ड पुर्‍याउने गरी बाटो खोलिदिएको छ । समितिको बिहीबारको बैठकले काठ, रड, ग्याबिन तार र कंक्रिट पोलले बाँधी मापदन्ड नपुगेका घरलाई भूकम्पप्रतिरोधी बनाउन सकिने विधि पारित गरेको छ । समितिले पारित गरेको प्रक्रियाअनुसार अब निर्माण भएका घरलाई स्थलगतरुपमा खटिएका इन्जिनियरले नम्बर दिनेछन् । सबै प्रक्रिया पुगेका घरले १०० नम्बर पाउनेछ । प्रक्रिया नपुगेमा त्यसैअनुसार नम्बर घट्नेछ । भूकम्पप्रतिरोधी घरका लागि ८५ अंक पाउनुपर्ने समितिले जनाएको छ । -पूर्णप्रसाद मिश्र, रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार