प्रधानमन्त्री ओली चीन प्रस्थान

२०७५ असार ५ गते, मंगलवार

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ प्रस्थान गरेका हुन् । व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ । मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन्, जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुसम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।चीनमा उनले भोलि अपरान्ह चार बजे राष्ट्रपति सी जिनपिङसँग करिब पौने घण्टा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै चिनियाँ समकक्षी ली खछ्याङसँग पनि भेटवार्ता हुनेछ । भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाईन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ ।
बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली चिनियाँ विमानबाट ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु