‘पोखराको विकास सरकारको प्राथमिकतामा ‘

२०७३ पुष २९ गते, शुक्रबार

काठमाडौं, २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको बताएका छन । पोखरा उपमहानगरपालिका २१ आँै नगर परिषद्को आज उद्घाटन गर्दै अर्थमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने बताए । पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने भन्दै उनले स्मार्ट सिटीका रुपमा विकास गर्न राज्यको ध्यान जानु आवश्यक रहेको बताए । त्यसका लागि राज्यका साथै समुदाय, निजी क्षेत्र सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने उनको भनाई थियो ।
यसैबीच, पोखरा उप महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरे । त्यसका लागी आर्थिक बर्ष २०७४-७५ मा स्थानीय कर, सेवा शुल्क तथा अन्य आयबाट गरी कुल आन्तरिक आम्दानी रु ६२ करोड ६५ लाख ९५ हजार र बाह्यतर्फ रु ६५ करोड ९० लाख गरी कुल एक अर्ब २८ करोड ५५ लाख ९५ हजार आय प्रस्ताव गरिएको छ । कार्यकारी अधिकृत ढुङ्गानाले समग्र पोखरा नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अघि बढाउँदै तर्जुमा भएका योजनालाई प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सम्बद्ध सबै पक्ष र निकायको सहयोग हुने विश्वास लिइएको बताए ।

प्रतिक्रियाहरु