पुमा, नाइक, बिन्ट्ले र स्टोर वानमा सिलबन्दी

२०७४ भाद्र २० गते, मंगलवार

काठमाडौं, २० भदौ । दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान बेच्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिलबन्दी गरेको छ । दसैं–तिहारका मुखमा सेलका नाममा ठगी गरेको भेटिएको भन्दै सिलबन्दी गरिएको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा छुट भन्दै ११ गुणाभन्दा बढी मूल्य लिने गरेको भेट्टाएपछि सिलबन्दी गरेको हो ।
चाडबाड नजिकिएपछि अधिकांश पसलमा ६० प्रतिशतसम्म छुटका टयाग झुन्डाइएका छन् । पुमा, नाइक, बिन्ट्ले र स्टोर वानमा अनुगमन गरिएको थियो । त्यस क्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएपछि सिलबन्दी गरिएको जनाइएको छ । कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न पाइँदैन । तर, ब्रान्डेडका नाममा उच्च नाफा राखी सर्वसाधारणलाई ठगी गरेको पाइएको अनुगमनमा सहभागी विभागका महानिर्देशक कुमार दाहालले बताए । उच्च मुनाफा राखी कालोबजारी गर्ने ती ४ स्टोरमा सिलबन्दी गरिएको उनले बताए ।
‘अनुगमन क्रममा १ हजार पर्ने कपडा ४ हजारदेखि ५ हजार, २४ सय रुपैयाँ पर्ने जुत्ताहरू २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो । बिलबीजक पनि छैन,’ उनले भने, ‘धेरै विकृति देखिएकाले चारवटैमा सिलबन्दी गरेका छौं ।’ आपूर्तिमन्त्री मण्डलले पसलहरूले बिलबीजक नभएको, ओभर बिलिङ गरेको, वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी छुट गरेकाले सिलबन्दी गरेको बताए । नर्थ फेसमा १३ हजारको सामान बेचेर ४ हजारमा बिल काटेको भेटिएको थियो । खरिद र बिक्री मूल्यमा धेरै अन्तर राखेका ती पसललाई सबै कारोबारको कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार अधिकांश पसलमा खरिद बिल थिएन । खरिद र बिक्री बिल भएको स्टोरमा हजार गुणा नाफा राखेको फेला परेको बताए । स्टोरहरूले दर्ताको प्रमाणपत्रसमेत देखाउन सकेनन् । भ्याटको दर्ता देखिए पनि वाणिज्यमा थिएन । दसैंको मौकामा छुट घोषणा गरेका उनीहरूको अवस्था के छ भनेर विभागको टोलीले अनुगमन गरेको थियो । टोलीले पसलहरूमा छुट सुरु हुनुपूर्वको बिक्री बिल र अहिलेको बिक्री बिल मागेको थियो । ‘तर, अधिकांश पसलेले बिल दिन सकेनन्,’ उनले भने । नाइक स्टोरमा प्रतिजोर २६ सय रुपैयाँमा खरिद गरिएको जुत्ता बिक्री बिलमा २७ हजार रुपैयाँ उल्लेख भएको उनले बताए । अनुगमनमा मागिएका आवश्यक कागजपत्र नपाएपछि सिल गरेको हो ।
व्यवसायीसँग सबै कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गरिने उनले बताए । व्यापारी भने भन्सारमै न्यून बीजकीकरणको समस्याले पूरै बजार प्रभावित भइरहेको बताउँछन् । कपडालगायत सामानमा हुने न्यून बीजकीकरणबाट सरकारले ठूलो राजस्व गुमाउँदै आएको छ । न्यून बीजकीकरणमा भन्सारकै कर्मचारीले समेत साथ दिने गरेको जानकारहरू बताउँछन् ।
‘व्यापारीले थोरै कर तिर्न चाहने र कर्मचारीले पनि व्यक्तिगत आर्थिक लाभ लिन चाहने कारणले न्यून बीजकीकरण संस्थागत बन्दै गएको छ,’ विभागका एक अधिकारीले भने । यसअघि पनि अनुगमन टोलीले विभिन्न मल र मार्टमा अनुगमन गरेको थियो । त्यस क्रममा व्यवसायीले सस्तोमा सामान ल्याई १३ गुणासम्म बढीमा बिक्री गर्ने गरेको पाइएको थियो ।
अनुगमनमा ७६ रुपैयाँमा खरिद गरेको टिसर्ट १ हजार रुपैयाँ, ३ सय रुपैयाँमा खरिद गरेको जिन्स पेन्ट १ हजार २ सय रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । २ सय १ रुपैयाँमा खरिद गरेको हाफ ज्याकेट २ हजार ७ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको थियो । तर, कालोबजारी गर्ने व्यवसायीलाई उन्मुक्ति दिँदा ती व्यवसायीहरूको मनोबल बढ्दै गएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘अनुगमन गरेर उन्मुक्ति दिँदा बजार सुधार हुन सकेन,’ उनले भने, ‘मुनाफाखोरीलाई कडा कारबाही हुनुपर्छ ।’ मन्त्री मण्डलले ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे । व्यवसायी र उपभोक्ताबीच समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गर्ने उनले बताए । – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार