पाथिभरामा पर्यटकको ओईरो

२०७३ मंसिर १२ गते, आईतवार

काठमाडौं, १२ मंसिर । पाथिभरा क्षेत्रमा पर्यटकको भीड लाग्न थालेको छ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पछिल्लो समय हिमालको मनोरम दृष्य हेर्ने पर्यटकको भीड लाग्न थालेको हो । केही समय अघिसम्म पाथिभरा मन्दिरमा दर्शन र पूजाका लागिमात्र तीर्थयात्री जाने गरेकामा अहिले विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाललगायत पर्यटकीय क्षेत्रको अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका हुन् ।
साउन, भदौ, असोज र चैत महिना मन्दिर दर्शनका लागि उपयुक्त हुने भएकाले पाथिभरामा पूजा गर्न भक्तजन जाने तथा अरु समय दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले जानकारी दिए ।
यस बेला हिमपात नहुने र चिसो कम हुने भएकाले विद्यार्थीलाई अवलोकन भ्रमणका लागि लैजाने विद्यालयको संख्या बढ्ने गरेको छ । पछिल्लो समय हेलिकोप्टर चार्टर गरेर पनि पर्यटक जाने गरेका छन् । यस क्षेत्रबाट कञ्चनंघा हिमश्रृंखलाअन्तर्गतका कुम्भकर्ण, पेण्डपिकलगायत एक दर्जन बढी हिमालका साथै मकालु क्षेत्रका हिमाल र भारतको दार्जिलिङसम्मको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रियाहरु