पर्यटन प्रबर्धनमा विदेशी पर्यटक

२०७२ असार १४ गते, सोमबार

काठमाडौं, १४ असार । गत वैशाख १२ गतेको भूकम्पपछि देशमा पर्यटक आगमन घटदै गएको सन्र्दभमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अभियान सञ्चालन गरेको छ । बेल्जियम, अमेरिका र जर्मनीका भूगर्भविद, इञ्जिनियर र सञ्चारकर्मी सहितको पर्यटक टोली बनाएर एक्यापले एक्याप क्षेत्रमा पर्ने विभिन्न क्षेत्रको भ्रमण गरिसकेको छ । मुस्ताङ, म्याग्दी, लमजुङ, कास्की र मनाङका विभिन्न बस्तीमा स्थानीय आमा समूह, पर्यटन व्यवसायी, राजनीतिक दल, संरक्षण क्षेत्र व्यवस्थापन समिति लगायतका सरोकारवाला निकायसँग अन्तरसंवादसहित राउन्ड अन्नपूर्ण पदमार्गका बाटो, त्यस क्षेत्रमा जान सक्ने हिमपहिरो, घर लगायतका विषयमा अध्ययन गरिरहेका छन् । सबै क्षेत्रमा भूकम्पले खासै असर गरेको नदेखिएको टोलीमा सहभागी एक्यापका प्रतिनिधि पारस सिँहले जानकारी दिनुभयो ।
“विदेशी टोलीहरु यो अभियानबाट एकदमै उत्साहित छन्, उनीहरुले आ–आफ्नो देशमा गएर यो सन्देश फैलाउनेछन्”, सिँहले भन्नुभयो, “यहाँको पर्यटनलाई पहिलाकै अवस्थामा फैलाउन सबै एकजुट हुनुको विकल्प छैन ।” टोलीले मनाङ र मुस्ताङमा सवारी साधनको पहुँच विस्तार भएसंगै पदयात्रालाई जोगाईराख्न वैकल्पिक मार्गको विषयमा अध्ययन गरेका थिए ।
पदयात्राका लागि विश्वकै उत्कृष्ट पदमार्ग मानिने राउन्ड अन्नपूर्णमा विदेशी पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै जान थाले पनि पहिले भन्दा एकदमै न्यून पर्यटकको आवागमन भएको एक्यापले जनाएको छ । देश तथा विदेशसम्म नेपाल भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश फैलाउन विदेशी पर्यटकसहित भ्रमणमा निस्केको टोलीले मुस्ताङलाई बढी फाइदा पुग्ने एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । जिल्लामा अहिले तेस्रो मुलुकका नागरिक भन्दा भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको छ । – रासस

प्रतिक्रियाहरु