पर्यटकीय गन्तव्य बन्दै बाँके राष्ट्रिय निकुञ्ज

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौँ । बाँके राष्ट्रिय निकुञ्ज पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ । देशकै कान्छो निकुञ्जका रूपमा ०६७ साल असार २८ गते पाटे बाघ संरक्षणका लागि विस्तारका लागि स्थापना भएको यो निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन् । अन्य पर्यटकीय गन्तव्य अझै निर्माणको चरणमा छन् । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेका निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विश्वमै दुर्लभ वन्यजन्तु पाटेबाघको संरक्षण गर्नका लागि स्थापित निकुञ्जमा आन्तरिक र बाह्र पर्यटन आगमनसमेत सुरु भएको छ । निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षण सम्भावनासँगै सिमसार क्षेत्र, डाँडाकाँडा, खोला–नदीनाला लक्षित गरी पर्यटन विस्तार भएको छ । बाँके निकुञ्जका प्रमुख वार्डेन गणेश पन्तले आन्तरिक र बाह्य पर्यटनका लागि निकुञ्जलाई अवलोकनका लागि खुला रहेको र आवतजावत सुरु भइसकेको बताए । निकुञ्जले तत्काललाई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा स्वीकृत गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्जले २०७० माघ महिनादेखि नौवस्ता–७ मा पर्यटकीय विकासका लागि घाँसे मैदान निर्माण गरेको छ । अहिले आधा दर्जन घाँसे मैदान विस्तार गरी पर्यटन केन्द्र बनाएको छ, जसमा सिमसार क्षेत्रका रूपमा रहेको गिद्देनी घाँसे मैदान एक हो । कोहलपुर, चिसापानी, महादेवपुरी, नौवस्ता गाविसको केन्द्रमा रहेको गिद्देनी घाँसे मैदानलाई पहिलो पर्यटकीय केन्द्रविन्दुका रूपमा पर्यटन घुम्ने बाटो खुला गरिएको छ । यस्तै महादेवपुरी, चुनभट्टी, बुच्चापुर, ठुरिया र गोठेरेमा घाँसे मैदान छन् । जहाँ मचान, पानी पोखरी, संकेत निर्माण, सवारी साधन बाटो र पैदलयात्राका लागि बाटो बनाएको छ ।
घाँसे मैदानमा पानी पोखरी, पानीको लागि बाँध, निकुञ्जका चराचुरुङ्गी र जनावार अवलोकन गर्ने गरी टावर भ्यु निर्माण गरिएको छ । १२ महिना पानी जम्ने र बग्ने स्थलका रूपमा घाँसे मैदानलाई सिमसार क्षेत्रका रूपमा समेत निकुञ्जले व्याख्या गरेको छ । पोखरी निर्माण, पानी जम्नेस्थल र घाँसे मैदानको चारैतिर घना जंगली झाडी रहेकोले घाँसे मैदानमा निकुञ्जका जनावार र चुराचुरुङ्गी हेर्न र घुम्न लायक छ । यहाँ घुम्न नेपाली नागरिकलाई प्रतिव्यक्ति १०० रूपैयाँ र विदेशी पर्यटकलाई एक हजार रूपैयाँको टिकट व्यवस्था छ ।
यासैगरी, निकुञ्जले घुम्न आउने पर्यटकलाई निकुञ्जभित्रको प्रकृतिको अवलोकनदेखि जनावर, पंक्षीहरूको अवलोकनका लागि काठका मचान निर्माण गरिएको निकुञ्जका वार्डेन पन्तले जानकारी दिए । निकुञ्जको गिद्देनी, महादेवपुरी जलसैनी, गोठेरी, कुसुम, ओभरी, ठुरियामा दृश्यावलोकनका लागि मचान तयार पािरएको छ । अहिलेसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ६ वटा मचान निर्माण गरी पर्यटनलाई अवलोकन र आवतजावतमा खुला भइसकेको छ । अबको बजेटमार्फत् ठुरियामा रात्री पर्यटन बसोबास गर्न सक्ने क्याम्प बनाउने तयारी भइरहेको छ । साथै निकुञ्जमा पर्यटन आकर्षणका लागि जंगली सफारी सुरु भएको छ । निकुञ्जले सफारीका लागि बाँके, दाङ र सल्यानसम्मका क्षेत्रमा सफारी गर्न मिल्ने गरी ४ वटा सडक सञ्जाल विस्तार गरेको छ । निकुञ्जका अनुसार खड्गवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हातीदमार सल्यान, अगैया–पानीमुहान दाङ र सुतैया–ओभरीसम्म जंगली सफारी र पैदलयात्रा गर्न मिल्ने सडक बनाएको हो । सफारीका लागि निकुञ्जभित्र सय किलोमिटर सडक विस्तार भएको छ, जहाँ सिजन र १२ महिना गाडीमा र पैदल सफारी गर्न सकिन्छ । सफारीका लागि नेपालीलाई प्रतिव्यक्ति सय रूपैयाँ, सार्क देशका नागरिकलाई ७०० र अन्य विदेशी पर्यटकलाई १ हजार रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । आन्तरिक र बाह्य पर्यटकले टिकट अनुमति लिएर, गाडीमा, पैदल जंगली सफारी गर्न व्यवस्था गरिएको छ । निकुञ्जका चुरे फेदसम्म सहजै गाडीमा सफारी गर्न सकिन्छ, बाँकी पैदलयात्रा ट्रेकिङ गर्न लायक छ ।
यससगै निकुञ्ज क्षेत्रका ४ स्थानमा होमस्टे विस्तार भएका छन् । सिद्रा माछा, सिन्कीको चटनी, आन्द्री चामलको भात, ढिक्री, बटिया, लोकल कुखुराको मासुदेखि स्थानीय सागसब्जी, तरकारी, फलपूmलदेखि दूध, दही, मही, घ्यूको स्वाद पाउनु होमस्टेको विशेषता हो । थारू समुदायमा बनेका काठ, माटो, प्लास्टिक, घाँसपातको झारबाट बनेको सामग्रीमा खाना र नास्ताको स्वाद पनि यहाँ पाइन्छ । बाँकेको चिसापानी–९ स्थित गाभरमा ३ वटा होमस्टे सञ्चालनमा छन् ।
यस्तै महादेवपुरीको नयाँ गाउँ र ढकेरीमा होमस्टे सञ्चालनमा छन् । चिसापानी च्यामा र महादेवपुरीका महादेवामा होमस्टेको तयारी भइरहेको छ । होमस्टेले स्थानीय थारु, पहाडी समुदायको खानपिन, संस्कार, रहनसहनले पाहुनालाई स्वागत गर्ने गर्छ ।
होमस्टेमा पुग्ने जोकोही पनि स्थानीय परिकार र वातावरणमा भरपुर स्वाद लिन पाउँछन् । ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छतरी, छिटुवा, हेल्का, काठमा मूर्ति, माटाका भाँडा, डोको, नाम्ला, कोसी, बेतबाँस, चकटी, ठेली, मदानी, कोसी जस्ता घरेलु सामग्रीसमेत किन्न पाइन्छ । यहाँ निकट भविष्यमा थारू संग्रहालय, वाच टावर, जंगल सफारी, बाघ अवलोकन, वृक्षारोपण, बाल उद्यान, एक घर एक बगैँचा, वनभोज स्थल, घाँसे मैदान अवलोकनका निर्माण प्रयाससमेत भइरहेको छ ।
पाटे बाघ संरक्षणका लागि विस्तार भएको बाँके निकुञ्जमा अहिलेसम्म ७ वटा बाघ छन् । क्यामेरा ट्रेपिङमा ६ वटा बाघ रहेको पुष्टि भए पनि निकुञ्जले ७ वटा भएको जनाएको छ । यहाँ बाघसम्बन्धी अध्ययन, जानकारी लिन सकिन्छ । निकुञ्जमा ३ वटा जंगली हात्ती रहेको पाइएको छ । यहाँ दर्जनौं संख्यामा अजिंगर सर्प छन् । यहाँ २०० बढी प्रजातिका चराचुरुङ्गी र जीवजनावरको बासस्थान रहेकोले पनि पर्यटकीय अवलोकन र अनुसन्धानका लागि महत्वपूर्ण छ ।
निकुञ्जभित्र पाटे बाघ, चितुवालगायत अन्य हात्ती, भालु, मृग, चित्तल, बँदेल आदि जनावरसमेत रहेकाले पर्यटकीय स्थल होभन्दा फरक पर्दैन । यहाँ १२४ वनस्पति प्रजाति, ८ इकोसिस्टम, ८३ प्रजातिका रूख, ५ प्रजातिका लहरा तथा ३६ प्रजातिका झाडीहरू रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत मोहन विश्वकर्माले बताए । यो निकुञ्जमा ३०० प्रजातिका चरा, सरिसृप २२ जाति, उभयचर ७, माछा ५५ जाति रहेको निकुञ्जले जनाएको छ । यहाँको पर्यटन विस्तारका लागि बबई नदीसँग जोडिएको बबई भ्याली पनि पर्यटनका लागि खुला रहेको छ । यहाँ जंगली जनावरदेखि प्राकृतिक दृश्यबाट मनोरम लिन सकिन्छ । यस्तै, पिकनिक स्थलका लागि उपयुक्त स्थान छ । बाँकेको गर्मीबाट शीतलता पाउन चिसापानी हुँदै देउराली, बबईसम्म उपयुक्त छ ।
यो क्षेत्रमा निकुञ्जले केही निश्चित जग्गा छुट्टयाएर बसोबास र गर्मीमा विश्रामस्थल बनाउने योजना निकुञ्जको छ । यहाँबाट बाँके, बर्दिया, बाँके र सल्यानको भूभाग छुने हुँदा पर्यटनका लागि गन्तव्य बनेको छ । चारैतिर घना जंगली, झाडी रहेकोले निकुञ्जका सफारी सडक वर्षात् र हिउँदमा समेत प्रयोग गर्न सकिन्छ । जनावर, चुराचुरुंगी, प्राकृतिक मनोरम, वन्यजन्तु, जडिबुटी, डाँडाकाँडा, बबई र राप्ती नदी घुम्न लायक छन् । निकुञ्जसँगै जोडिएको महादेवपुरी गाविसमा ढकेरी वनस्पति उद्यान छ । यहाँ विभिन्न वनस्पति, जडिबुटी, फलपूmलका बोटबिरुवासँगै पूmलहरू लगाएर पार्कझैं सिंगारिएको छ । आसपासमा नाच्न, गाउन, खानपिन र रमाइलोका लागि पिकनिक क्षेत्र बनाइएको छ । जिल्लामा अन्यन्त्र पिकनिक स्थल, पार्क र एकान्त स्थल नहुँदा धेरैको रोजाइ बिदाको समय रमाइलो गर्ने ढकेरी उद्यान पार्क बनेको छ । वनस्पति उद्यान ढकेरी अवलोकन र घुम्न आउनेका लागि यी क्षेत्र एकान्त, सुविधासम्पन्न र व्यवस्थित छन् । यहाँ २० जनाभन्दा कमको पिकनिक शुल्क २५०, २० बढी व्यक्तिको समूहलाई ३५० रूपैयाँ लिने गरिएको छ । राजमार्गबाट आवतजावत गर्नेहरू पनि यो उद्यानमा बसेर फोटो खिचाउने र घुमेर आउने गर्छन् ।
कचनापुर गाविसको अगैयामा अवस्थित सिक्टा सिँचाइ आयोजनाको बाँधस्थल नेपाल सरकारको पहिलो र ठूलो लगानीको आयोजना हो । यहाँ राप्तीपारीका गाविस जोड्ने पुलसमेत रहेको बाँधले गर्दा तालसमेत बनेकोले यो पिकनिक स्थल बनेको छ । बोटिङ, माछा मार्नका लागि पनि यो प्रसिद्ध छ । यहाँको होटलहरू स्थानीय राप्तीका माछाका लागि प्रसिद्ध छन् । यसको वारिपारि बगैंचा बनाउनसके अझै पर्यटन तानिन सक्छन् । यस निकुञ्जमा पर्ने राप्ती नदीमा गोही र जलचर प्राणीको मुख्य बाँसस्थान छ । यहाँ माछा मार्नेहरूको घुइँचो लाग्छ । यो नदीका विभिन्न स्थामा झोलुंगे पुल रहेकाले पनि पर्यटनका लागि घुमघाम गर्न आकर्षण केन्द्र बनेको छ । निकुञ्जले शिवखोलादेखि अगैयासम्म बोटिङ चलाउने योजना सुरु गरेको छ ।
यहाँबाट कुसुमस्थित शिव मन्दिर, बाघखोरदेखि जलचर प्राणीको अवलोकन गर्न सकिन्छ । यो निकुञ्जको पूर्वमा पूर्वपश्चिम राजमार्ग र शिवखोला, पश्चिममा रत्न राजमार्ग, उत्तरमा बबई नदी र दक्षिणमा पूर्वपश्चिम राजमार्ग छ । दक्षिणमा कम्दी जैविक मार्ग हुँँदै छिमेकी राष्ट्र भारतको सोहेलवा वाइल्ड लाइफ सेन्चुरीसँग जोडिएको यो राष्ट्रिय निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । खाता जैविक मार्ग, राष्ट्रिय वन र सामुदायिक वन हुँँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चुरीसँग समेत जोडिएको छ । तराई भू–परिधिको एक महत्वपूर्ण भाग रहेकोले पाटे बाघको बासस्थानका लागि यो उत्तम मानिएको छ ।

प्रतिक्रियाहरु