पर्यटकिय भिसामा विदेश जान कडाइ

२०७१ मंसिर ४ गते, बिहीबार


काठमाडौ । गृह मन्त्रालयले पर्यटक भिसामा विदेश जाने नेपालीका लागि छुट्टै काउन्टर स्थापना गर्न अध्यागमन विभागलाई लिखित दिर्नेशन दिएको छ। विमानस्थल प्रहरी र अध्यागमन अधिकृतहरूले सेटिङमा रकम असुली नेपाली युवालाई खाडी मुलुक पठाउने गरेको उजुरी परेपछि गृहमन्त्री वामदेव गौतमले मन्त्रीस्तरीय निर्णय गरी पर्यटक भिसामा विदेश जाने नेपालीको कागजपत्र जाँचका लागि छुट्टै काउन्टर स्थापना गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयले खाडी तथा अफ्रिकी मुलुक, मलेसिया, थाइल्यान्ड, हङकङ र सिंगापुर पर्यटक भिसामा जानेलाई कडाइ गर्नसमेत निर्देशन दिएको छ। गृहले पर्ययक भिसामा विदेश जाने र पर्यटक काउन्टरमा बस्ने अध्यागमनका अधिकृतहरूको अभिलेख राख्ने भनेको छ।
गृहले पर्यटक भिसामा विदेश जाने नेपालीले जनही कम्तीमा एक हजार अमेरिकी डलर बोक्नुपर्ने निर्णय गरेको छ। यसअघि पाँच सय अमेरिकी डलर लिएर गए पुग्थ्यो। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अध्यागमन कार्यालयले प्रदान गर्ने सेवालाई थप व्यवस्थित गर्न पर्यटक भिसामा विदेश जाने नेपालीका लागी विमानस्थलमा छुट्टै डेस्क स्थापना गर्ने निर्णय गरिएको बताए।
‘पर्यटक भिसामा खाडी मुलुक गएकाहरूले लुकेर काम गर्न थालेपछि धेरै समस्या आयो’, ढकालले भने, ‘त्यस्ता व्यक्तिलाई निरुत्साहित गर्न छुट्टै डेस्क स्थापना गर्ने निर्णय भएको हो।’ गृहले उक्त निर्णय कार्यान्वयन गराउन विभागलाई पत्राचार गरेको छ।
विभागका महानिर्देशक सुदर्शन ढकालले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न-गराउन बुधबार विमानस्थल कार्यालयलाई पत्राचार गरेका छन्। अध्यागमन कार्यालयले अहिले पर्यटक भिसावाहक यात्रुलाई नियमित काउन्टरबाटै पठाउँदै आएको छ।
पर्यटक भिसामा कुनै महिला खाडी मुलुक जान लागे साथमा अभिभावक भए/नभएको र नभएको अवस्थामा गन्तव्य देशमा अभिभावक त्व लिने व्यक्तिको समेत यकिन विवरण राख्न गृहले पत्राचार गरेको छ।
मन्त्रालयले डिपार्चर (गमन) पत्र पूर्ण रूपमा भरेपछि मात्र प्रस्थान अनुमति दिन विभागलाई निर्देश गरेको छ। यसका लागि छुट्टै डिपार्चरपत्रको नमुना विभागमार्फत विमानस्थल अध्यागमन कार्यालयलाई पठाएको छ।

प्रतिक्रियाहरु