नेपालमा अलपत्र चिनियाँ पर्यटकको स्वदेश फर्कने चाहना

२०७७ बैशाख १५ गते, सोमबार

काठमाडौं, १५ वैशाख । चिनियाँ पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन जानका लागि कुनैपनि उडान नभएको र आफुहरुलाई नेपाल छाडन कुनैपनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् । उनीहरुले कोभिड–१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनैपनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्न नेपाल पर्यटन वोर्डको कार्यालय पुगेका हुन् ।
यस्तै चिनियाँ दुतावासले पनि घर फिर्ताका लागि कुनैपनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपालका विभिन्न ठाउँमा ४ सय भन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताइएको छ । उनीहरुले दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए चिनियाँ नागरिकलाई लैजान तयार रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रियाहरु