नेकपामा प्रवेश गर्नेको लहर

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । सो पार्टीद्वारा संचालित ‘एकीकृत जनजागरण अभियान’अन्तरगर्त देशभर जनतामा क्रान्ति र परिवर्तनको लहर फैलिएको हो । वैज्ञानिक समाजवाद स्थापनाको पक्षमा उभिएका विभिन्न उमेर समूहका नागरिक नेकपामा प्रवेश गरिरहेका छन् । साथै नेकपाद्वारा संचालित उक्त अभियानका क्रममा आयोजित जनसभा, कोणसभा, सहिद तथा बेपत्ता परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रममा उत्साहित भई व्यापक मात्रा सहभागिता जनाइरहेका छन् । यसै क्रममा बिहीबार कालिकोट रास्कोटमा विशाल जनसभा चलिरहेकै बेला एक सयभन्दा बढी युवायुवती नेकपामा प्रवेश गरेका छन् । स्युना सिप्खाना, फुकोट नानीकोट, राम्नाकोट, लाफालगायत क्षेत्रका युवायुवती नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई जनसभाका प्रमुख अतिथि नेकपाका पोलिटब्यूरो सदस्य निर्माण, अतिथि ब्यूरो ईन्चार्ज एटम बसीले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । यो लहर देशभर चलिरहेको बताउँदै प्रमुख अतिथि निर्माणले युवादेखि वृद्धवृद्धासम्मले एकीकृत जनक्रान्तिमा सहभागिता जनाउन सकिने बताए । पार्टीले नयाँ र पुराना सबै पुस्तालाई समेटेर देशमा अलपत्र पारिएका जनयुद्धका उद्देश्य पूरा गर्न एकीकृत जनक्रान्तिलाई विजयको शिखरमा नपु¥याएसम्म विश्राम नलिने उद्घोष गरे । क्रान्तिप्रति जनलहर देखेर ओली–प्रचण्ड नेतृत्वको दलाल सरकारले नेकपा नेता कार्यकर्ता र समर्थकलाई दमन, गिरफ्तार र झुठा मुद्दा लगाउने तहमा उत्रिएको र यसबाट क्रान्तिकारीलाई एकइन्च फरक नपर्ने बताए । प्रमुख निर्माण र ब्यूरो सदस्य एटमले देशबाट दलाल, भ्रष्टचारी र दमनकारी, राष्ट्रघातीलाई खरानी पार्न नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिमा सहभागी हुन र सहयोग गर्न जनसभामा अपिल गरे । राज्यले सधैँ हरेक सुविधा र अधिकारबाट वञ्चित गराएको भन्दै अधिकार र परिवर्तनका लागि आपूmहरु क्रान्तिको यात्रामा एकसाथ लागेको नवप्रवेशी युवाहरुको भनाई थियो ।
यसैगरी, दाङमा पूर्व माकेका जिम्मेवार व्यक्तिहरु नेकपामा प्रवेश गरेका छन् । राजपुरमा माकेका तर्फबाट तत्कालिन वडाध्यक्षका उम्मेदवार कल्लु यादवसहित दर्जनौं कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा राजपुर गाउँपालिकाका तत्कालिन ३ नं. वडाअध्यक्ष उम्मेदवार कल्लु यादवका साथ पूर्व माकेका ५० जना कार्यकर्ता नेकपाद्वारा अगाडि सारिएको एकीकृत जनक्रान्तिप्रति लामवद्ध हुँदै नेकपामा प्रवेश गरेका हुन् । माओवादी केन्द्र एमालेमा विलय भएकाले क्रान्ति र क्रान्तिकरी कम्युनिस्टको झण्डा जोगाउन आपूmहरु नेकपामा प्रवेश गरेको उनीहरुले बताए । क्रान्ति सम्पन्न नभएसम्म देश र नागरिकले मुक्ति नपाइने बताए । नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टी दाङ इन्चार्ज सविन, जिल्ला जनपरिषद प्रमुख गणेश चौधरीलगायत नेताहरुले अविर माला लगाइदिएर स्वागत गरे । क्रान्तिमा सहभागी हुन आउनु निकै गर्वको विषय भन्दै इन्चार्ज सविनले अब देशमा परिवर्तनको पक्षमा शुरु भएको क्रान्तिलाई कुनै शक्तिले पनि रोक्न नसक्ने बताए । क्रान्तिले मात्र दलाल संसदीय व्यवस्था भत्काउन सम्भव रहेको भन्दै जनपरिषद् प्रमुख चौधरीले क्रान्तिकारी शक्ति र देशभक्त स्वाभीमान सबैलाई क्रान्तिको झण्डामुनि गोलबद्ध हुन अपिल गरे । उनले अहिलेको क्रान्तिकारी र देशभक्तहरुको ध्रुवीकरण गाउँपालिका, नगरपालिका र वडा तहसम्म संचालन भइरहेको बताए ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलगायत नेताहरू रामेछापको मन्थली नगरपालिकामा पर्ने सहिद रमिता लुङ्गेली मगरको घरमा पुगेका छन् । एकीकृत जनजागरण अभियानअन्तर्गत नेकपाका नेता र कार्यकर्ताहरू सहिद रमिताको घरमा पुगेका हुन् । रमिता मगर दश वर्षे जनयुद्धका क्रममा सहिद भएकी थिइन् । उनको बुबा र आमालाई नेकपाका नेता हेमन्त प्रकाश ओली सुदर्शन, पोलिटव्युरो सदस्य पदम राई, अर्का दुई पोलिटव्युरो सदस्य भरत बम रणवीर र कृष्ण धमला गंभीरलगायत जिल्लाका नेता कार्यकर्ताहरूले भेटघाट गरेका हुन् । ‘हामी जनयुद्ध र तपाईको छोरीका सपना पूरा गर्न निरन्तर क्रान्तिको बाटोमा हिँडिरहेका छौ’, स्थायी समिति सदस्य सुदर्शनले भने, ‘प्रचण्डहरूले धोका दिए पनि हामी सहिदको सपनालाई धोका दिने छैनौं ।’ नेकपाका नेताहरूले आपूmहरूलाई भेट्न आएकोमा सहिद रमिताका बुबा आमा खुशी भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु