नेकपाद्वारा नक्कली बम राखी जनतालाई आतङ्कित नपार्न चेतावनी

२०७६ चैत्र ४ गते, मंगलवार

काठमाडाैँ, ४ चैत । नेपाल कम्युनिस्ट पार्टीले नक्कली बम राखी जनतालाई आतङ्कित पारेर पार्टी र नेता–कार्यकर्ताहरूलाई लगाइएको आरोपप्रति घोर निन्दा र भत्र्सना गरेको छ । सो पार्टीले बैतडी डिलासैनी गापाको केन्द्रको विवादमा वडाध्यक्षको घरमा नक्कली बम राखी जनतालाई आतङ्कित पारेर पार्टी र नेता–कार्यकर्ताहरूलाई लगाइएको आरोपप्रति घोर निन्दा र भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बैतडीका इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनद्वारा जारी विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको भ्रष्ट, दलाल सरकारले जनताको न्यायपूर्ण आवाजलाई कुल्चेर देशमा तानाशाही लादिरहेको कुरा तथाकथित कम्युनिस्टहरूले प्रस्ट पारेका छन् । डिलासैनी गापाको केन्द्रको विषयलाई लिएर कार्यपालिकाको पहिलो बोर्ड बैठकले गापाको केन्द्र वडा नं. ७ धामीगाउँमा राख्ने निर्णय भए पनि एक महिनापछिदेखि हालसम्म वडा नंं. ३ पंसेरामा गापा केन्द्र हुँदा दलाल फासिवादी व्यवस्थाका भरौटे सुरेन्द्र पाल र गापा अध्यक्ष ओकेन्द्र बोहराले एकलौटी ढङ्गले निर्णय गरी प्रत्येक जनप्रतिनिधिहरूलाई जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएर पंसेरामा केन्द्र राख्ने निर्णय गरेका छन् ।’
विज्ञप्तिमा भनिएको छ, ‘हस्ताक्षर नगरेर असहमति जनाउने जनप्रतिनिधि रामसिंह नेगी र घुङुरा लुहारलाई आफ्ना कार्यकर्ता परिचालन गरी अपहरणशैलीमा लगेर लुकाएर राखेको छ । घरपरिवारका सदस्यहरूले प्रहरी चौकी गोकुलेश्वरलाई निवेदन दिँदासमेत प्रहरी चौकी गोकुलेश्वरले कुनै मतलब गरेको छैन । जनताको सुरक्षा गर्ने नेपाल प्रहरी पनि भ्रष्टाचारी सरकारको मतियार भएको स्पष्ट हुन गएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भ्रष्टाचारी नेता सुरेन्द्र पाल र अध्यक्ष ओकेन्द्र बोहराले आफ्ना कार्यकर्ता परिचालन गरी ४ नं. वडा अध्यक्षका घरमा नक्कली बम राखी जनतालाई आतङ्कित पारेर हाम्रो पार्टी र हाम्रा नेता–कार्यकर्ताहरूलाई लगाएको आरोपप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौँ । डिलासैनीबासीहरूको न्यायपूर्ण आन्दोलनप्रति पूर्ण समर्थन, ऐक्यबद्धता जनाउँदै सम्पूर्ण न्यायप्रेपी जनसमुदायहरूलाई उक्त आन्दोलनमा सहभागी भइदिन हार्दिक अपिल गर्दछौँ । अपहरण शैलीमा लुकाएर राखेका जनप्रतिनिधिहरूलाई यथाशीघ्र ससम्मान घरपरिवारलाई बुझाउन चेतावनी दिन्छौँ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सुरक्षाकर्मी मित्रहरूलाई भ्रष्टाचारी नेता र अध्यक्षको सेवा, चाकरी भन्दा पनि जनताको न्यायपूर्ण आन्दोलनमा सुरक्षा र सहयोग प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ । साथै भ्रष्ट, दलाल, सामन्ती सुरेन्द्र पाल र ओकेन्द्र बोहरालाई यस्ता हर्कत तत्काल रोक्न, बन्द गर्न र हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई झूठो आरोप मुद्दा लगाएर जनतालाई भ्रम नगरिदिन र समयमै सच्चिनका लागि जानकारी गरिन्छ । अन्यथा हाम्रो पार्टी सशक्त रूपले कडाभन्दा कडा सङ्घर्ष गर्ने र कुनै क्षति हुन गएमा त्यसको जिम्मा स्वयम् दलाल सरकारले लिनुपर्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गरिन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु