नेकपाका ३ नेतालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

२०७६ श्रावण ३१ गते, शुक्रबार

काठमाडौं, ३१ साउन । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बिहीबारको एकल इजलासले अर्घाखाँची प्रहरी हिरासतमा बन्दी बनाइराखिएका लालबहादुर वली ‘विश्व’, काठमाडौं प्रहरी परिसरको सिंहदबार वृत्तको हिरातमा राखिएका बुधहाङ राई र कञ्चनपुर प्रहरीको हिरासतमा साउन२४ गतेदेखि बन्दी बनाई राखिएका कृष्णबहादुर शाहीलाई पक्राउ गर्नुको लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको छ ।
विश्वलाई यसै हप्ता प्युठानबाट रिहालगत्तै पुनः गिरफ्तार गरी अर्घाखाँची पुर्याइएको हो भने कैलाली जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका शाहीलाई पुनः गिरफ्तार गरी कञ्चनपुर लगेर सार्वजनिक हितविरुद्धको मुद्दा लगाइएको छ । राईविरुद्ध पनि सार्वजनिक हितविरुद्धको अभियोग लगाइएको छ । उनलाई असार १२ गते काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट गिरफ्तार गरेको थियो । राई र वलीको हकमा यसपटकको बन्दीप्रत्यक्षीकरण रिट निवेदन चौथो हो भने शाहीको हकमा पहिलो हो । वलीको हकमा पुत्र विनोदकुमार वली, राईको हकमा एक्सन राईले रिट निवदेन दायर गरेका थिए ।
रिट निवेदकहरुलाई बिनाकारण पक्राउ गरी गैरन्यायिक ढंगले हिरासतमा राखिएको भन्दै तत्काल थुनामुक्त गर्न माग निवेदनमा गरिएको छ । वली पार्टीको राप्ती ब्यूरो सदस्य हुन् भने राई पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को क्याम्पस जिल्ला सदस्य हु्न् । शाही सामान्य कार्यकर्ता हुन् ।
गत फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि सो पार्टीका नेता कार्यकर्तामाथि निगरान ? दमन, धरपकड र गिरफ्तार श्रृंखला पछिल्लो समयमा झनै तिव्र पारिएको छ ।
अर्को रिट दायर
अर्का कार्यकर्ता पूर्णबहादुर खडकालाई बिनाकारण प्रहरीले गिरफ्तार गरी गैरन्यायिक तरिकाले हिरासतमा राखेको भन्दै तुरुन्त थुनामुक्त गर्न माग गर्दै सरोजकुमार खडकाले सर्वोच्च अदालतमा बिहिबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका छन् ।
खडकालाई कञ्चनपुर प्रहरीले हिरासतमा राख्दै आएको छ । निवेदनमाथि बहस आइतबार मात्र हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु