धान नाच प्रतियोगीता हुने

२०७१ पुष ४ गते, शुक्रबार

काठमाडौं । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ पाँचथरले चासोक मेलामा लोपन्मुख लिम्बू संस्कृति धान नाच प्रतियोगिता गर्ने भएको छ । हार्दिकताले एक आपसको हात समाई गोलाकारमा उभिएर तरुना तरुनीद्धारा रोमान्चक शैलिमा नाचिने धान नाच संरक्षण गर्न चुम्लुङले प्रतियोगिता गर्ने भएको हो ।
नयाँ अन्नबाली प्रकृतिदेविलाई चढाएर खान सुरुवात गर्ने लिम्बू जातिको पर्व चासोक तङ्नाम ( न्वागी उत्सव ) को महत्व बढाउन आयोजित मेलाको समेत साँस्कृतिक रौनकता थप्न प्रतियोगिता गर्न लागिएको हो । विषेश गरि मेला पर्वमा नाचिने धान नाचको १ गतेदेखि २० गतेसम्मका लागि लागिरहेको चासोक मेलाको मुख्य मेला १२, १३, १४ र १५ गते प्रतियोगित हुने जनाइएको छ ।
धान नाच नाता नलाग्ने दुई वा दुई भन्दा वढी युवक युवतीको समुहद्धारा पालामको लय र तालसंगै फन्को मार्दै नाचिन्छ । पालाम ( धान नाच्दा गाइने गीत )को गेयात्मक माध्यमबाट केटाकेटीविच मानवीय जीवनमा भोगिने जन्म, जीवन र मृत्युका विषयमा सवाल जवाफ चल्छ । पालामको रागरसको नसामा फस्दै जाँदा युवक युवतीले तीन दिन तीन रातसम्म पनि लगातार नाच्न सक्ने र यसविचमा कतिपय केटाकेटीको ख्याल ख्यालमै गहिरो माया बस्न जाँदा विवाहमा समेत परिणत हुने गर्दछ ।
यसरी लिम्बू समुदायको परम्परामा वैवाहिक पद्धतीसंग पनि सम्बन्ध राख्ने धान नाच मुख्य सरोकारवाला लिम्बू युवा वेवास्ताले लोप हुन लागेकोले यसको गरिमा जोगाउन प्रतियोगिता गर्न लागेको चुम्लुङ अध्यक्ष बुद्धराज लिम्बूले बताउनुभयो । उत्कृष्ठ नाचेर पहिलो दोस्रो र तेस्रो हुने समुहलाई पुरस्कृति गर्ने चुम्लुङ कोषाध्यक्ष नरेन्द्रराज केरुङले बताउनुभयो । अनुशासित र मर्यादित तवरले रात छर्लङ्गै पार्ने गरी धान नाच्ने समुहलाई पुरस्कृत गर्ने समेत जनाइएको छ । उत्कृष्ठ समुह छनौटका लागि धान नाचका विषयमा जानकार अग्रज बुढापाकाहरुको मुल्याङ्कन गर्ने टोली समेत बनाइने बताइएको छ ।

प्रतिक्रियाहरु