तीनजुरेमा पर्यटकको ओईरो

२०७४ चैत्र १२ गते, सोमबार

काठमाडौं, १२ चैत । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकैपटक ५० भन्दा बढी देशका पर्यटक पुगेका छन् ।गुराँसको राजधानीको रुपमा परिचित सो क्षेत्रमा अष्ट्रेलिया, अमेरिका र युरोपलगायत ५० भन्दा बढी देशबाट पाँच सय बढी पर्यटक पुगेका हुन् । नेपालको इनभिजन टिम र स्प्रीचुअल रिचुअल समूहको व्यवस्थापनमा आयोजित संगीत र कलाको पर्व ‘शक्ति पिक फेस्टिभल’ का लागि ५० भन्दा बढी देशका कला र संगीतका पारखी तीनजुरे पुगेका हुन् । मार्च २३ देखि २७ सम्म मनाइने फेस्टिभलका लागि आएकाहरु मंगलबारे र गुफाबजारको मध्यभागमा रहेको खुला चौरमा टेण्ट टाँगेर बसेका छन् । उनीहरुका लागि खाने, बस्ने र संगीतमा रमाउने व्यवस्था गरिएको व्यवस्थापक सुरज केसीले जानकारी दिए । उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो ।

प्रतिक्रियाहरु