जाजरकोटमा घुम्ती शिविर सञ्चालन गर्ने तयारी

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं, ८ बैशाख । जाजरकोटमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको छ । रोग प्रभावित गाउँका घरहरु छरिएर रहेकाले मोबाइल टिम बनाई गाउँ गाउँमा चिकित्सकको टोली जाने तयारी भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
तर दुर्गम ठाउँमा घर भएकाले उपचारमा समस्या हुने महशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताए । रोग प्रभावित क्षेत्रका स्थानियबासिन्दाले डाक्टरकोमा जानुभन्दा पनि झारफुक र धामी झाँक्री देखाउने हुँदा रोगको प्रकोप झन् बढ्दै गएको डाक्टर मरासिनीको भनाई छ ।
सरकारले जाजरकोटको महामारी एक हप्तादेखि १० दिनसम्ममा नियन्त्रणमा आउने बताइरहेपनि त्यो समयमा प्रकोप नियन्त्रण हुन नसक्ने डाक्टरले बताएका छन् । स्वाइन फ्लु समेत भएकाले छोटो समयमा नियन्त्रणमा आउने सम्भावना नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर गीता शाक्यले बताइन । नमूना परीक्षणका क्रममा त्यहाँका १० जना भन्दा बढीमा स्वाइन फ्लुको संक्रमण पाईएको डाक्टर शाक्यले बताइन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु