छात्रवृत्तिमा पक्षपात

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौ, १९ असोज । शिक्षा मन्त्रालयले लिएको छात्रवृत्ति प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर गत वर्ष एमबीबीएस भर्ना भएका विद्यार्थीको वार्षिक परीक्षा संचालनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम) ले पक्षपात गरेको छ । आइओएमले छात्रवृत्तिमा पढेका र पूर्ण शुल्क तिरेर पढेका विद्यार्थीलाइ छुट्टाछुट्टै मितीमा परीक्षा संचालन गर्ने निर्णय गरेर कार्यान्वयनका लागि एमबीबीएस लगायत मेडिकल विषयको पढाइ संचालन गरिरहेका कलेजहरुलाई पत्राचार गरेको छ ।
आफू अन्तर्गतका तेह्र वटा कलेजहरुलाइ पत्राचार गरेर आइओएमले पूर्ण शुल्क तिररे पढेका विद्यार्थीलाइ पहिलो चरणमा परीक्षा संचालन गर्ने र पहिलो चरणको परीक्षामा उत्तीर्ण हुन नसकेको विद्यार्थीलाई पुन संचालन गरिने पुरक परीक्षामा मात्र सहभागी गराउन निर्देशन दिएको छ ।
यस निर्णयअनुसार पूर्ण शुल्कमा पढिरहेका विद्यार्थीको परीक्षा संचालन तथा नतिजासमेत सार्वजनिक भएपछि संचालन गरिने पुरक परीक्षामा मात्र छात्रवृत्तिमा पढेका विद्यार्थीले नियमित परीक्षार्थी दिन पाउनेछन् । एकै शैक्षिक शत्रमा भर्ना भएका विद्यार्थीलाइ नियमित परीक्षामा उपस्थित नगराएर पुरक परीक्षामा मात्र बस्न दिने निर्णय गरेर आफूहरुलाई आइओएमले अन्याय गरेको विद्यार्थीहरुको गुनासो छ । संस्थान र शिक्षा मन्त्रालयबीचको विवादका कारण आफूहरुलाइ समस्यामा पारिएको उनीहरुको आरोप छ ।
गत वर्ष पनि छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीहरु पूर्ण शुल्कमा भर्ना भएका विद्यार्थी भन्दा केहि दिन ढिलो भर्ना हुने गरेपनि परीक्षा भने एकै समयमा हुने गरेको थियो । यस पटक भने संस्थालने अन्यायपूर्वक आफूहरुको दोस्रो वर्षको पढाइ समेत प्रभावित हुनेगरि ढिलो परीक्षा सञ्चालन गर्न लागिएको एमबीबीएसमा छात्रवृत्तिमा पढिरहेका रुपेश सङग्रौलाले बताए ।
गत वर्ष छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीको सूचि मन्त्रालयले गत पुसमा मात्र त्रिविमा पठाएको र उक्त सूचि प्राप्त हुँदा पूर्ण शुल्कमा भर्ना भएका विद्यार्थीको पढाइ शुरु भइसकेको हुनाले परीक्षा पनि छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीलाइ ढिलो समावेश गराउन लागिएको संस्थानको भनाइ छ ।
संस्थानका निमित्त डीन शरदराज वन्तले भने, ‘मन्त्रालयले नै विद्यार्थीको सूचि ढिलो पठाएका कारण विद्यार्थिलाइ सामान्य मर्का पर्‍यो । समग्र मेडिकल शिक्षालाई व्यवस्थित गर्न यस्तो व्यवस्था गर्न लागेको हौ ।
नियमित विद्यार्थीको परीक्षा भइरहेको बेलामा छात्रवृत्तिका प्रथम वर्षका विद्यार्थीलाइ थप कक्षा दिन कलेज संचालकलाइ निर्देशन दिदैंछौं ।’गत वर्ष संस्थानले विद्यार्थी भर्नाका लागि तोकेको अन्तिम दिन अर्थात पुस पाँच गते भन्दा ढिलो आएका कारण ती विद्यार्थीलाइ परीक्षा ढिलो संचालन गर्न लागिएको वन्तले बताए ।
‘संगै एमबीबीएस पढेका विद्यार्थी परीक्षा दिन जान्छन् । हामी भने टुलुटुलु हरेर बस्नुपर्ने अवस्था आइओएमले सिर्जना गरिदिएको छ’ गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत एक विद्यार्थीले भने, ‘मन्त्रालयले लिएको परीक्षामा प्रतिस्पर्धा गरेर पढेका हाम्रो के विगार गरेका छौं र परीक्षामा बस्न नपाउने ? ’
आइओमको निर्णय अनुसार छात्रवृत्तिमा पढेको पहिलो वर्षका विद्यार्थीहरुको पुरक परीक्षा संचालन हुने बेलासम्ममा पूर्ण शुल्कमा पढेको विद्यार्थीको दोश्रो वर्षको पढाइ शुरु भइसक्ने र छात्रवृत्तिका विद्यार्थीहरु भने दोश्रो वर्षको पढाइ छोडेर पहिलो वर्षको परीक्षा तयारीमा जुट्नुपर्ने अवस्था आउनेछ ।
संस्थानले नियमित विद्यार्थीलाइ कात्तिक दोश्रो वर्षदेखि परीक्षा संचालन गर्ने तयारी गरेको छ । छात्रवृत्तिका विद्यार्थीलाइ भने नियमितको नतिजा सार्वजनिक भएपछि मात्र परीक्षामा सहभागी गराइनेछ । – अन्नपूर्ण दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु