१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युवरण

२०७५ बैशाख २८ गते, शुक्रबार

काठमाडौं, २८ बैशाख । विश्वप्रख्यात वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्वीटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएर अष्ट्रेलियामा रही बोटनी र पर्यावरण क्षेत्रको वैज्ञानिक बनेर ख्याती कमाएका गुडअलले हाँसीहाँसी मृत्युवरण गरेको जनाइएको छ । इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो । एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका हुन् । उनले स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा शान्तिपूर्वक मृत्युवरण गरेको नित्जेले उल्लेख गरेका छन् ।
गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएको तथा विथोवनको ‘ओड टु जोई’ संगीत सुनेको पनि जनाइएको छ । आफ्नो जिन्दगी अन्त्यका लागि उनी मे ३ मा अष्ट्रेलियास्थित घर छाडेर स्वीटजरल्याण्ड गएका थिए । मृत्युवरण गर्दैगर्दा उनले आफ्नो मृत्युको चर्चाले वृद्धवृद्धाको इच्छा मृत्युको अधिकारको मागलाई बल मिल्ने उल्लेख गरेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु