‘चुनावको सशक्त प्रतिकार गर्छौं’

२०७४ जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं, १२ जेठ । राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते हुने स्थानीय तहको चुनावको सशक्त प्रतिकार गर्ने घोषणा गरेको छ । उसले चुनावलाई सशक्त प्रतिकार गर्ने घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीको अध्यक्षमण्डलको शुक्रबार राजधानीमा बसेको बैठकले प्रतिकार गर्ने शुक्रबारअपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
घोषित कार्यक्रम अनुसार जेठ १३ गते मसाल जुलुस, जेठ १४ गते लाठी जुलुस, जेठ १५ गते बृहत् अन्तरक्रिया, जेठ १६ गते निर्वाचन हुने केन्द्रमा तालाबन्दी गर्ने कार्यक्रम तय गरेको छ ।
साथै जेठ १८ र १९ गते निर्वाचन हुने क्षेत्रमा बन्दको घोषणा समेत राजपाले गरेको छ । जेठ २० गतेदेखि निर्वाचन विथोल्ने गरी थप कार्यक्रम आगामी साता सार्वजनिक गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । सत्ता गठबन्धनले नयाँ सरकार गठनमा राजपाले समर्थन गर्ने र निर्वाचनमा पनि राजपा सहभागी हुने प्रचार गरिरहेको बेला आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिनुपर्ने, स्थानीय तहको संख्या थप गर्नुपर्ने र संविधान संशोधन गरिनुपर्ने मागलाई चुनावमा सहभागिताको शर्तका रुपमा सो पार्टीले अगाडि सारेको छ ।
६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । पार्टी एकीकरणअघि ६ वटै दलले पूरानो चुनाव चिन्ह, लोगो र झण्डा प्रयोग नगर्ने निर्णय गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु