चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक

२०७६ आश्विन २२ गते, बुधबार

काठमाडौं, २२ असोज । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको पुष्टि गरेको छ ।
यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक जानकारी आएको थिएन् ।
चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल र भारत दुवै देशमा एक–एक रात बिताएपछि १३ मा उनि वेइजिङ फर्कने छन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ ।
नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु