चतरामा नेपालकै ठूलो र अग्लो हनुमान मूर्ति !

२०७० चैत्र २८ गते, शुक्रबार

काठमाडौं ,२८ चैत। सुनसरीको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान मूर्ति स्थापना गरिएको छ ।
प्राचीन हरिद्वार कुम्भ क्षेत्रका लागि पौराणिक देवदेवी र कुम्भस्तम्भ तथा कुण्डहरुको निर्माणका क्रममा हुनमानको मूर्ति स्थापना गरिएको हो । भारतको हरिद्वार परिदा आट्र्स केन्द्रका कलाकार श्रीफकिरचन्द्र परिदाले सो मूर्तिको निर्माण गरेका हुन् ।
भगवान् हनुमानको मूर्ति निर्माणका लागि भारत हरियाणा बहादुरगढ निवासी सोमदत्त शर्माको अगुवाइमा भारतको विभिन्न स्थानमा गएर हनुमान मूर्ति निर्माणकर्ताको खोजी गर्ने क्रममा फेला परेका कलाकार श्रीफकिरचन्द्रले तीन मेटि्रक टन फाइबर ग्लास प्रयोग गरेर सो मूर्ति तयार गरी चतरामा स्थापना गरेका हुन् ।
प्रचलित मूल्यअनुसार हनुमान मूर्ति निर्माणका लागि ८० लाखभन्दा बढी खर्च लागेको र त्यो सबै खर्च हनुमान मूर्ति निर्माणदेखि चतराधाममा ल्याएर स्थापना गर्दासम्मको कुल खर्च जोड्दा त्यति पुगेको बताइएको छ । आगामी वैशाख २ गते हनुमान मूर्तिको प्राणप्रतिष्ठासहित पुजन गरेर वैद्धिक परम्पराअनुसार विधिवत् उद्घाटनको तयारी भइरहेको छ । विधिवत् रुपमा हनुमान मूर्तिको प्राणप्रतिष्ठासहित उद्घाटनपछि लगातार पाँच दिनसम्म धार्मिक अनुष्ठान गरिने कार्यक्रम तय भएको छ ।
कम्तीमा सय वर्षको आयु रहेको हनुमान मूर्ति नेपाल तथा भारतका हिन्दू धर्मावलम्बीका अटुट धार्मिक विश्वाससँगै मित्रवत् सम्बन्धलाई अरू सुदृढ तुल्याउनका लागि जगत्गुरु श्रीरामानन्दाचार्य श्रीवैष्णव डा कृष्णदासजी महाराजको सदिच्छाअनुसार भारतवासीले निर्माण गरिदिएको सोमदत्त शर्माको भनाइ छ ।
डा कृष्णदासजी महाराजले भगवान् शिवसँगै अन्य देवगण तथा हनुमानलाई समेत स्वप्नमा सँगै देख्नुभएको चर्चा उठान भएपछि भारतका हिन्दू धर्मावलम्बीले उहाँकै चाहनालाई पूरा गर्न र नेपाल तथा भारतका जनताबीच धार्मिक मैत्रीपूर्ण सद्भाव कायम राख्नका लागि यसको निर्माण गरिएको बताइएको छ । – रासस

प्रतिक्रियाहरु