गृहयुद्धको पिडा , ७० प्रतिशत सिरियाली युवती अविवाहित

२०७३ असार ९ गते, बिहीबार

काठमाडौँ, ९ असार । सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ । गृहयुद्धका कारण गाउँघरबाट युवा पलायन भएपछि मुलुकमा महिलाको उपस्थितीमात्र देखिन्छ । त्यसमा पनि विधवा र एकल महिलाको संख्या उल्लेख्य भएका कारण जन्मदरमा नकारात्मक असर देख्न थालिएको छ ।
सिरियामा अविवाहित युवतीको संख्या ७० प्रतिशतको हाराहारीमा पुगेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनीहरुले विवाहका लागि दुलाहा पाउन नसकेको बताइएको छ । कतिपयले आफूभन्दा निकै पाको पुरुषसँग सम्बन्ध बनाउन थालेका छन् भने कोही एकल जीवनमै चित्त बुझाउन बाध्य छन् ।
लाखौं सिरियाली युवाले मुलुक छाडिसकेका छन् । सिरियामै रहेका युवाको एउटा ठूलो हिस्सा सेनामा छ भने कोही सशस्त्र विद्रोहमा संलग्न रहेको आरोपमा जेलमा छन् । सिरियाको युवा पुस्ताको भविष्य अहिले अन्धकारमय बनेको हो । उनीहरुको परिवार छिन्नभिन्न भएको र अधिकांश युवती अविवाहित रहनु परेका कारण भविष्यमा सिरियाले एउटा पुस्ता कै अभाव सामना गर्नुपर्ने विज्ञहरुको भनाई छ । – एजेन्सी

प्रतिक्रियाहरु