खुला विश्‍वविद्यालय स्थापना हुदै

२०७१ कार्तिक २९ गते, शनिबार


काठमाडौ । लामो प्रयासपछि मुलुकमा खुला विश्वविद्यालय स्थापना हुने भएको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय स्थापनासम्बन्धी ऐनको मस्यौदा निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। नियमित रूपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई अध्ययनको सुविधा दिने उद्देश्यले खुला विश्वविद्यालय स्थापना गर्न लागिएको हो। यो विश्वविद्यालयमा विद्यार्थीले घरैमा बसेर पढ्न र अनलाइनमार्फत परीक्षा दिन सक्नेछन्। यस्ता विश्वविद्यालयमा स्वदेश तथा विदेशमा बस्नेसमेत भर्ना हुन सक्छन्।
शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार शिक्षा मन्त्रालयले तयार गरेको विधेयकमाथि अर्थ मन्त्रालयले पनि सहमति दिइसकेको छ।
‘अर्थबाट विधेयक शिक्षामा आएको छ। अब कानुन मन्त्रालयको सुझाव लिएपछि शिक्षामा आउँछ। मन्त्रिपरिषद् बैठकमा लगेर स्वीकृत गराइन्छ’, उनले भने, ‘विगतमा खुला विश्वविद्यालय खोल्ने बहस भए पनि प्रभावकारी रूपमा काम भएको थिएन। यसपटक भने धेरै काम अघि बढिसकेको छ।’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयक संसद्ले पारित गरेपछि कानुनको रूप लिन्छ।
मन्त्रालयले खुला विश्वविद्यालयमा हाल सञ्चालनमा रहेको कुलपति तथा उपकुलपति नराख्ने योजना बनाएको छ। अहिले मुलुकभर सञ्चालित नौवटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति तथा शिक्षामन्त्रीको सिफारिसमा प्रधानमन्त्री तथा कुलपतिले कार्यकारी अधिकारसहित उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।
अर्थ मन्त्रालयले पनि नयाँ विश्वविद्यालयलाई कुलपति र उपकुलपतिको सट्टा अध्यक्षमण्डल रहने व्यवस्था गर्न सुझाव दिएको लम्सालले बताए। ‘खुला विविलाई हाल रहेको विश्वविद्यालय भन्दा पृथक बनाउनुपर्छ भन्ने सुझाव अर्थको छ। यस विषयमा सरोकारवालाको सुझाव लिएर निर्णय गर्छौं’, लम्सालले भने। अर्थको सुझावमा विश्वविद्यालयमा आर्थिक भार नपर्ने गरी संरचना बनाउन भनिएको छ।
खुला विश्वविद्यालय पूर्वाधार विकास समितिले काभ्रेको बनेपामा कार्यालय राख्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ। समितिले ‘मास्टर्स इन पेडागोजिकल साइन्स’ को पाठ्यक्रम निर्माण अन्तिम चरणमा पु:याएको छ। विश्वविद्यालयको अनलाइन डिजाइन सकिन लागेको पनि समितिले जनाएको छ।
खुला विश्वविद्यालय स्थापनाका विषयमा लामो समयदेखि बहस सुरु भए पनि राजनीतिक दलबीचको विवादका कारण प्रक्रिया आरम्भ हुन सकेको थिएन। मुलुकमा खुला विश्वविद्यालय नहुँदा भारतका खुला विश्वविद्यालयसँग सम्बन्धन लिएर केही संस्थाले पढाइ सञ्चालन गरिरहेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु