कोरोना नियन्त्रणका मेडिकल सामग्री आइपुग्दै

२०७६ चैत्र १४ गते, शुक्रबार

काठमाडौ, १४ चैत । चीनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई दिने भनिएका मेडिकल सामाग्री शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ती सामग्रीको आयातसँगैं तातोपानी नाका विधिवत रुपमा सुचालु हुने खत्रीले बताए । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ शुक्रबारबाट मालवस्तु जाँचपास सुचालु हुन्छ’ खत्रीले भने ।
अहिले नाकाबाट फलफूल र मेडिकल सामग्री मात्रै आउने खत्रीले बताए । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले जानकारी दिए । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने खत्रीले बताए । नाकाबाट मालवस्तुमात्रै आयात निर्यात हुने हुँदा सामान लिन जाने सवारी चालकको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै चीन पठाउने र सीमापारि पनि उनीहरुको स्वास्थ्य जाँच हुने हुँदा कोरोना संक्रमणको डर नभएको खत्रीले बताए ।
स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा रहेको छ । चीनबाट आएका सामानहरु जाँचपास गर्दा त्यसमा सहभागी हुनेले विषेश किसिमको सुरक्षा अपनाउने हुदाँ जाँचपासमा संलग्नलाई समेत कोरोना संक्रमण हुने सम्भावना नभएको उनले बताए ।

‘अहिले फलफूल र मेडिकल सामग्रीहरु मात्रै आउने हुँदा एक एक गरेर हेर्नुपर्ने हुन्न’ खत्रीले भने । चीनबाट आएका सामग्रीलाई किटनाशक स्प्रे गरेर मात्रै जाँचपास गर्ने र जाँचपास गरेपछि ७२ देखि ७४ घण्टासम्म लार्चास्थित यार्डमा राखिने छ । त्यसपछि पुन किटनाशक स्प्रे गरेर मात्रै ती सामान पठाइने खत्रीले जानकारी दिए । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँगैं नेपालले माघ १५ गते चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द गरेको थियो ।

२०७२ सालको भुकम्पपछि चारवर्ष बन्द भएको तातोपानी नाका २०७६ जेठ १५ बाट सञ्चालनमा आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु