कोइरालाको शोकमा आज सार्वजनिक बिदा

२०७२ माघ २७ गते, बुधबार

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति एब पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले कोइरालाको निधनको शोक मनाउन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी आज नेपाल भरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा झुकाइएको छ । २९ गतेसम्म राष्ट्रिय झन्डा झुकाइने छ । त्यसैगरी २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोक पुस्तिका राखिने भएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको शवयात्रा त्रिपुरेश्वरबाट सुरु भएर पुतलीसडक–कमलपोखरी–मैतीदेवी–गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ । कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबारदेखि दशरथ रङ्गशालामा राखिएको छ । बुधबार दिउँसो २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । स्वर्गीय कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु