‘एमाले र माओवादी केन्द्रबिच केही भिन्नता थिएन भन्ने कुराको पुष्टि’

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले एमालेसँग भएको एकतामा आफू नजाने बताएका छन् । उनले क्रान्तिकारी माओवादी धारलाई संगठित गर्ने बताए । गए राति भएको एकताले एमाले र प्रचण्ड नेतृत्वको माकेमा केही भिन्नता थिएन भन्ने कुराको पुष्टि भएको बताए । एमालेसँग पार्टी एकतापछिको पहिलो प्रतिक्रियामा विष्टले भने, “हामी ओली प्रचण्डको पार्टीमा जाँदैनौं । क्रान्तिकारी माओवादी धारलाई संगठित गर्छौं । यो एकतालाई दुई तरिकाबाट हेर्नुपर्छ । पहिलो एमाले र माओवादी केन्द्र वैचारीक रुपमा फरक थिएनन् भन्ने कुरा प्रमाणित भएको छ । यीनीहरुमा तात्वीक भिन्नता थिएन । जुन अब आम जनतालाई पनि प्रष्ट भयो ।” प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको औपचारीक रुपमा बिर्सजन भएको बताउँदै नेता विष्टले प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी केन्द्रको दुःखद् अबसान भएको बताए । उनले एमाले–माकेको एकतापछि बन्ने पार्टी कम्युनिष्ट नभएर सोसल डेमोक्रयाट पार्टी भएको तर्क गरे ।
नेता विष्टले प्रचण्ड एमाले प्रवेश गरेको बताउँदै अब माओवादीहरुबीच एकता हुन सहज भएको बताए । “यसले अहिलेसम्म रहेको भ्रमको अन्त्य भएको छ । अब क्रान्तिकारी माओवादीहरु नयाँ पार्टी निमार्णमा लाग्छौं” नेता विष्टले भने । उनले आफू, आहुती र गोपाल किरातीले माओवादी केन्द्र पुर्नगठन गर्ने बताए ।
अब नेपालमा कम्युनिस्टका दुई धार प्रष्ट भएको बताउँदै नेता विष्टले संशोधनवादी धारको नेतृत्व ओली–प्रचण्डले गर्ने बताए । उनले विप्लव र वैद्यसँग मिलेर आफूहरुले माओवादी पार्टी निर्माण गरेर क्रान्तिकारी धारको नेतृत्व गर्ने दाबी गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु