एनसेलविरुद्ध युवा अभियान

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौ, २२ बैशाख । निजी क्षेत्रमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको कर तिर्न दबाव दिने उद्देश्यले नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको अगुवाईमा ‘४० अर्बका लागि ४० जना युवाको ४ दिने अभियान’ शुरु भएको छ । ‘आज एनसेलले कर नतिरे भोलि अर्कोले तिर्ने छैन । आउनोस्, जनस्तरबाटै जुटौँ, एनसेललाई कर तिर्न बाध्य पारौं’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो ।
केन्द्रीय सदस्य शर्माका अनुसार अभियानको पहिलो चरणमा मंगलबारदेखि ४ दिनसम्म एनसेलबाट आएको फोन उठाइने छैन । शर्माले एनसेलको नम्बरबाट फोन पनि नगर्ने बताएका छन् । एनसेलको सबै शेयर स्वामित्व बिक्री भएपनि स्थानीय स्वामित्वको २० प्रतिशत मात्रै पूँजिगत लाभकर असुल भएपछि आफूहरुले बाँकी कर असुलीका लागि दवाव दिन अभियानमा होमिएको शर्माले बताए । ‘एनसेल कम्पनीले सम्पत्ति किनबेच हुँदा सरकारलाई बुझाउनु पर्ने सम्पत्ति करवापतको ४० अर्ब रुपैयाँ नबुझाएकाले त्यो रकम अबिलम्ब बुझाउन दवाव दिन अभियान शुरु गरेका हौँ’, शर्माले भने – ‘एनसेल प्रयोग नगर्ने र सर्वसाधारणमा पनि प्रयोग नगर्न आग्रह गर्दछौँ ।’
स्वीडेनको दुरसञ्चारको क्षेत्रमा लगानीकर्ता कम्पनी टेलिसेन्योराको स्वामित्वमा रहेको एनसेल मलेशियाली कम्पनी एक्जिटा प्रालिले खरीद गरेको छ । शेयर किनबेच हुँदा सम्पत्ति कर वापतको ४० अर्ब रुपैयाँ एनसेलले अहिलेसम्म भुक्तानी गरेको छैन । अभियानमा झापाका शिक्षासेवी पुष्पराज पौडेल, बाहुनडाँगीका सामाजिक अगुवा खड्गबहादुर धिमाल, शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, मेचीनगर लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष सुनीता पनेरु, राजनीतिक दलका युवा नेता, सामाजिक अगुवालगायत झापाको मेचीनगर, बाहुनडाँगी, शान्तिनगर, धाइजन र ज्यामिरगढीका ४० जना सहभागी छन् ।
यसअघि, डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र मनोज खनाल नेतृत्वको युवा शक्ति नेपाल पार्टीले दुरसञ्चार सेवाप्रदाक कम्पनी एनसेललाई कानुन बमोजिम कर तिर्न चेतावनी दिएका थिए । राज्यलाई बुझाउनु पर्ने कर तिर्न अटेर गरे कम्पनी सञ्चालनमै रोक लगाएर कानुनी कारबाही गर्न दुई पार्टीले सरकारसँग माग गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार