आनन्द बजार नाका अझै खुलेन

२०७४ पुष ३० गते, आईतवार

काठमाडौं, ३० पुस । अघिल्लो बर्षको फागुन २७ गते कञ्चनपुरको आनन्द बजारमा सीमा विवादका क्रममा स्थानीय गोविन्द गौतमको ज्यान गएपछि बन्द भएको नाका अझै खुल्न सकेको छैन । १० महिना बिति सक्दा समेत नाका सञ्चालन नहुँदा दुवै देशको सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ । सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागी आनन्द बजारका स्थानीय गोविन्द गौतमको ज्यान गएको १० महिना बितिसकेको छ । मृत्युपछि उनलाई सरकारले शहीद घोषणा पनि गर्‍यो । तर यति लामो समय बिते पनि सोही घटनापछि बन्द रहेको सीमा नाका भने अहिलेसम्म सुचारु हुन सकेको छैन ।
नाका सुचारुका लागि स्थानीयले विभिन्न निकायमा पहल गरे पनि राजनीतिक पार्टी तथा सरकारी पक्षबाट आश्वासन बाहेक केही पाएका छैनन् । लामो समयसम्म पनि नाका सुचारु नहुँदा आनन्द बजार लगायत पुनर्वास क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु खरिदका लागि चोरी बाटो भएर सामान किन्न जानु पर्ने बाध्यता रहेको छ ।
उनीहरुले आवतजावतका लागि नाका सुचारु गर्नुपर्ने माग गरेका छन् । पुनर्वासको आनन्द बजार नाका बन्द हुँदा भारतीय पक्षलाई समेत सास्ती भएको आनन्द बजारसँगै जोडिएको बसही बजारका स्थानीयले बताएका छन् । उनीहरु नाका बन्द भएका कारण दुवै देशका स्थानीयबीच रहँदै आएको सुमधुर सम्बन्धसमेत विस्तारै कम हुँदै गएको बताउँछन् ।
भारतको बसही बजार क्षेत्रका स्थानीयले दुवै देशको सरकारी पक्षले चाडोभन्दा चाडो सीमा विवाद मिलाएर वातावरणलाई सहज गर्नुपर्ने बताए । सीमा नक्साङ्कनका क्रममा भारतको बसही बजारसम्म नेपाली भूमि परे आफुहरु छोड्न तयार भएको उनीहरुले बताए । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सांसद तारा लामा तामाङले नाका सुचारुका लागि पहल गर्ने बताए । तामाङले प्रहरी प्रशासनसँग समन्वय गरेर नाका खुलाउनका लागि पहल गर्ने आश्वासन दिए ।
सीमा विवादका क्रममा नेपाली तथा भारतीय पक्षबीच पटक पटक विवाद हँुदै आए पनि दुवै देशको सरकारी पक्ष यस विषयमा गम्भीर देखिदैंन । जसले गर्दा दुवै देशका नागरिकबीच पटक पटक झडप हुँदै आएको छ । त्यसैले यस विषयमा दुवै देशको सरकारी पक्ष गम्भिर हुनु जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार