आज सार्क स्थापना दिवस

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौं, २३ मंसिर । आज सार्क स्थापना दिवस । ३१ वर्ष अगाडी स्थापित यसदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनले दक्षिण एशियाली मुलुकको साझा हित पहिल्याउने र विकास र समृद्धिको दिशामा काम गर्ने उद्देश्य राखेको छ ।
३१ औं वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिँदै दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबीच बृहत्तर सहयोग अपरिहार्य भएको बताएका छन् । दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् ।
सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका नागरिकको विकासका आकांक्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाएका छन् ।
तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एशियामा गरिबी निवारण, शान्ति प्राप्ति, स्थायित्व र समृद्धि भएको उल्लेख गर्दै उनले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको बताए ।
सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न हामीले पुनःप्रतिबद्धता जाहेर गर्नुपर्छ भन्दै उनले गरिबी, आतंकवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन यस क्षेत्रको साझा चुनौती रहेको उल्लेख गरेका छन् । सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य रहेकामा उनको जोड छ ।
सार्कका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटुट प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बन्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु