आज लोकतन्त्र दिवस

२०७४ बैशाख ११ गते, सोमबार

काठमाडौं, ११ बैशाख । वि.स. २०६२/२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज ११ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईंदै छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र सशस्त्र आन्दोलनमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो । जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा पुनस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन बैशाख ११ को ऐतिहासिक महत्व छ । जनआन्दोलन सफल पार्ने क्रममा २५ जना नेपालीले जीवन बलिदान गरेका थिए भने थुप्रै घाइते भए । जनआन्दोलनको सफलताको जगमै विस्तृत शान्ति सम्झौता भई शान्ति प्रक्रिया आरम्भ भएको थियो भने दुई पटक संविधान सभाको निर्वाचन समेत भएर लोकतान्त्रिक संविधान जारी भएको थियो । संविधानसभाबाट नयाँ संविधान मुलुकले प्राप्त गरे पनि त्यसको कार्यान्वयनमा अझै निकै अल्झन रहेका छन् ।
यस अवधिमा जनताका राजनीतिक माग पूरा भए पनि ती जनतासँग जोडिएका जनजीविकाका मुद्दा भने अझै पनि आशातित प्रगति हुन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु