आज उपत्यका बन्द

२०७५ आश्विन ७ गते, आईतवार

काठमाडौं , ७ असोज । नेपाल कम्युनिस्ट पार्टीले नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको साथै नागरिकमाथि चरम अत्याचार र अन्याय थोपरेको भन्दै विरोधमा आजको लागि घोषणा गरिएको उपत्यका बन्दको प्रभाव ललितपुर, भक्तपुर र काठमाडौं तीन वटै जिल्लामा परेको छ । उपत्यकाबाट बाहिरका लागि छुट्ने कुनैपनि सार्वजनिक यातायातका सवारी छुटेका छैनन् । चलेका आंशिक सवारीमा हतियारसहित सुरक्षाकर्मी राखेर चलाइएको छ । उपत्यकाबाट भित्रिने सवारी पनि रोकिएका छन् । सा–साना बजारहरु खुलेपनि ठूला बजार र पसलहरु ठप्प छन् । अरनिको यातायातबाट संचालित सुनकोशी, कोशीपारि, चौतारा, जिरी, मन्थली, मेलम्ची छुट्ने गाडी रोकिएका छन् । विपी, कुलेखानी, पासाङ ल्हामु र पृथ्वी राजमार्ग हुँदै चल्ने सवारी बिहान छुट्न सकेनन् ।
सरकार गैरजिम्मेवार बनेको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । सूर्यविनायकबाट गाडी चढेर कोशीपारि जाने यात्रु रोकिएका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पालिटब्यूरो सदस्यहरु जीवन्त, गम्भीर शिलु, विकास, ओमप्रकाश पुन तथा केन्द्रीय सदस्यहरु आजाद, दिप्सन, देवनारायण शाह, असललाई सरकारले मुद्दा लगाएर महिनौंदेखि हिरासतमा राख्दै आएको छ ।
आजै मात्र प्रकाण्ड, शिलु र आजादलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसका लागि सर्वोच्च ल्याइँदैछ । प्रकाण्डलाई उदयपुर, शिलुलाई दाङ र आजादलाई काभ्रेमा बम विष्फोट र आगजनी अभियोगमा राखिएको छ । शिलुलाई भने हिजै काठमाडौं ल्याई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
भ्रष्टाचार, महंगी, तस्करी, कृत्रिम अभाव, राष्ट्रघातको संरक्षण गर्ने तथा तर जनता र देशको समस्य हल गर्नेबारे आवाज उठाउँदै आइरहेका नेकपा र यसका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाउने र राज्यआतंक मच्चाएको भन्दै नेकपाको उपत्यका विशेष ब्यूरो ईन्चार्ज प्रज्वलले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बन्दको घोषणा गरेका थिए । तैपनि सरकारले नेकपाको मागप्रति कुनै चासो दिएको छैन । यसबाट आगामी दिन राजनीतिक संघर्ष पेचिलो बन्ने सम्भावनाको बढ्दै गएको भन्दै नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु