अल्जाइमर – बलराम तिमल्सिना

२०७५ आश्विन ३० गते, मंगलवार

अल्जाइमरले सिकिस्त छ सरकार
अल्जाइमरकै विरामी छ प्रतिपक्ष
जनताको हालत पनि उस्तै उस्तै छ
देश अल्जाइमरले चलाएको छ !

यो देशको सरकारलाई
ऊ कसरी बन्यो भन्नेमै विभ्रम छ
कैले सोच्छ-
ऊसलाई जनताको मतले बनाएको हो
त्यस्तरी लाइन लागेका थिए जनता
ड्याम ड्याम छाप लगाएकै हुन तिनले
फेरि सोच्छ –
बोराका बोरा पैसाले चै के गर्यो त ?
बिना पैसा त चुनावमा
जनताको के कुरा
कार्यकर्ता पनि डेग चलेका थिएनन्
पैसाले नै मासु किनियो
पैसाले नै रक्सी किनियो
पैसाको बीटोले हम्केपछि
बल्ल मुस्कुराएका थिए मतदाता
पक्कै पैसाले बनाएको हुनु पर्छ
यस्तो निस्कर्ष निकाल्छ फेरि !

घोषणा पत्रको गफले पो हो कि ?
कैले फेरि यस्तो सोच्छ
कम्ता रमाइलो थिएन घोषणापत्र
पक्कै घोषणा पत्रले होला
यस्तो पनि निस्कर्ष निकाल्छ कैले !

ज्या विदेशीको सहयोग
मिडियाको प्रचारबाजी
कर्मचारीको मिलेमतो
यी पनि त खास्साका सहयोगी थिए
खै कसले बनाएको हो सरकार
सरकार स्वयम अन्यौलग्रस्त छ ।

सरकार
तरवार नचाएर आएको हो
या भोटको भाँडभैलो गरेर हो
यो सरकारको कुर्सी
जुनीभरिलाई हो
या केही वर्षलाई हो
स्वयम सरकार अलमलमा छ !

प्रतिपक्षको हालत अझ खराव छ
वर्षौंको संस्थापन ऊ
एकाएक कसरी प्रतिपक्ष भयो ?
काङ्ग्रेस पनि कही प्रतिपक्ष हुन्छ ?
हैट ,कम्युनिष्टले झेली गरे !
यस्तो सोच्छ प्रतिपक्ष
आफू सत्तापक्ष हो या प्रतिपक्ष
एक वर्षसम्म पनि अन्यौलमा छ ऊ !

प्रतिक्रियाहरु