बोक्सीको घर : एक मनोवैज्ञानिक चलचित्र

प्रजिना सी २०८१ बैशाख २५ गते, मंगलवार


चलचित्रको कुरा गर्दाखेरि हिन्दी सिनेमा जसरी नेपाली सिनेमाले अझै पनि नेपाली समाजमा ठाउँ लिन सकेको छैन । विगतमा थुप्रै चलचित्रहरु आए कतिपयले एकदमै राम्रो छाप पार्न सफल भयौ जुन दशक बित्दा पनि मान्छेहरु कुरा गरिराख्छन् । पुराना चलचित्रका गीतहरू र डायलगहरू अझै पनि हाम्रा मुखमा झुन्डिएका छन् । चलचित्र भन्नेबित्तिकै कि त हँसाउँछ कि त रुवाउँछ कि त मनोरञ्जनका लागि मात्र पनि हुन्छन्। जे भनेपनि यसले समाज र त्यसभित्रका पात्रहरू वस्तुमै आधारित हुन्छन् । कलिहुड भनेर चिनिने नेपाली चलचित्र प्राय बलिहुड सँग दाँजिने गरिन्छ ।

भर्खरै मैले केकि अधिकारीको बोक्सीको घर भन्ने चलचित्र हेरेको थिएँ । यस चलचित्रमा पात्रहरूले अभिनय होइन साँच्चिकै कुनै एउटा घटना भइरहेको छ र त्यहाँ क्यामेरा मार्फत कैद गरिएको जस्तो भान भयो । या भनौँ पात्रहरूको अभिनय निकै नै प्राकृतिक छ । यस चलचित्रमार्फत नेपाली समाजको तीतो यथार्थ देखाइएको छ । कथामा २०५० सालको पृष्ठभूमि भएपनि अझै पनि समय सान्दर्भिक छ । एउटी सामान्य अबोध बालिका कसरी दुलही हुन्छन् र विधुवा भइसकेपछि कसरी बोक्सी भनेर उपनाम दिइन्छ भन्ने यात्राको व्याख्या गरिएको छ । कथामा एउटी बालिका जसको नाम जुनु हुन्छ, जुन जस्तै उ पनि हँसिली र उज्याली हुन्छिन् तर पछि ग्रहण लागे जस्तै उसको जीवनमा पनि यस्तो घटना आइपर्छ जसले गर्दा त्यो हँसिलो मुहारमा कहिले मुस्कानले बास छोडेको पत्तै पाइँदैन । पढाइमा अब्बल हुने जाँचमा सधैं राम्रो अङ्क ल्याउने हुने तर खोई जीवनको जाँचमा चाहिँ ओरालो लाग्दै गरेको जीवन छ उसको । सात आठ वर्षको कलिलो उमेर आफूभन्दा दुईगुणा जेठो व्यक्तिसँग विवाहको बन्धनमा बाँधिनुपर्छ । सम्बन्ध के हो भनेर थाहा नपाउने उमेरमा ऊ शारीरिक बन्धनमा बाँधिनुपर्छ । जुनुको श्रीमानको नाम प्रकाश हो जसले जसले उसको जीवनमा अन्धकार बाहेक केही दिएन । उसलाई मन लागेको बेलामा ऊ त्यहाँ उसको बिछ्याउनेमा हुनुपर्थ्यो ।
सायद यो दृश्यलाई हेर्ने थुप्रै महिलाहरूले आफ्नो जीवनमा जोड्नु पनि भयो होला । दुर्घटनामा जब जुनुले आफ्नो श्रीमान गुमाउँछिन् तब उसको जीवनमा शून्यता र मौनता बाहेक केही हुँदैन । विधुवा भएकी उनी थुप्रै आरोपहरू लगाइन्छ । पछि गएर आफ्नै ससुराबाट दिनदिनै बलात्कृत हुनुपर्छ । उसको घाँटीको पोतेले मानौँ दाम्लो हो भनेर चित्रण गरेको पाइन्छ । जब त्यो दाम्लो रहेन जसले पनि प्रयोग गर्न पाए । यो कुरा उसकी सासुले थाहा पाएपछि सबै गाउँले मिलेर उसलाई बोक्सी भनेर उपनाम दिइन्छ र दिशापिसाब खुवाइदेर आदि कपाल मुडेर गाउँ निकाला गरिदिन्छन् । समय बित्दै जाँदा पुरुष भनाउँदाहरूले थुप्रैले उसको बलात्कार गर्छन् जसले गर्दा उसको मानसिक अवस्था नै गुमाउँछिन् ।

जुनुलाई बुझ्दै जाँदाखेरि हामी दर्शकले के बुझ्न सक्छौं भन्दा उनलाई समाजले नै पागल बनाइदियो । ऊ बारम्बार आफ्नो सानो उमेर जुनबेला उसको विवाह भएको थियो त्यो बेलाको जुनुसँग बोल्दै गरेको पाइन्छ । साइकोलोजिकल टर्ममा भन्ने हो भने यसलाई सिजोफेनिया भनिन्छ । त्यही उमेरमा उसले आफ्नो कोमलता र अबोधपन गुमाउनु परेको थियो र कथित नेपाली समाजको संस्कृतिमा परेकी थिइन्। त्यसैले उसले सानो जुनुलाई देखेको र उसँग संवाद गरेकी हुन् । यो बाहेक उसले थुप्रै व्यक्तिहरूलाई पनि देख्छिन् । जसले उमाथि एउटा त्रास बनाइदिएको बनाइदिएको छ। त्यसलाई देखेर उनी झस्किरहन्छिन्, रुन खोज्छिन् र चिच्याउँछिन् । सायद जो व्यक्तिले उसलाई त्यो मानसिक र शारीरिक तनाव दिएका थिए त्यही व्यक्तिलाई उसले देख्छिन् । सानो जुनुसँगै उनी खेल्छिन् रमाउँछिन् र उसलाई सुरक्षित भएको महसुस हुन्छ । कथामा निकै मर्म छ जुनकी आमाले पनि कहिले आफ्नो श्रीमानबाट प्रेम पाइनन् बरु तिरस्कार र घृणाको पात्र बनिन् ।

कथा मार्फत देख्न सक्छौँ कि मान्छेहरू कतिसम्म निर्दयी हुन्छन् भने मानसिक रोगबाट ग्रसित जुनुको उपचार गर्न भन्दा पनि बढी गाउँमा जे समस्या भएपनि उसलाई नै दोष लगाइन्छ । त्यहाँका पुरुषहरूले उसको बलात्कार गर्छन् र आफ्नो गल्ती लुकाउनका लागि उसलाई बोक्सी भनेर उपनाम दिइन्छ ।

यस्ता घटनाहरू अझै पनि नेपालका कुनाकुनामा प्रशस्तै पाइन्छ । जुनु जस्तै पात्रहरू अझै पनि काठमाडौँका सडकमा पाइन्छन् । हाम्रो पुरुष प्रधान समाज कस्तो हो भनेर यो चलचित्रमा राम्रोसँग देखाइएको पाइन्छ । सुन्दर वस्तुलाई पनि समाजका कुरीति, कुप्रथा र अन्धविश्वासले कसरी कुरूप बनाइदिन्छ भन्ने कुरा पनि पात्रहरू मार्फत देख्न पाइन्छ । नेपाली समाजमा महिलाहरूको स्थान के हो र कसरी चाहिँ काँडै काँडाबीच खाली खुट्टा हिँड्नुपर्ने अवस्थालाई चित्रण गरिएको छ । महिलाको स्थान उसको श्रीमान रहुन्जेल मात्र हुन्छ र त्यही रातो वस्त्रले मात्र उसको जीवन रङ्गिन हुन्छ श्रीमान बिना उसको जीवन खल्लो हुन्छ भन्ने कुरा समाजमा अझै पनि प्रशस्त पाइन्छ । यौन इच्छा केवल पुरुषलाई मात्र हुन्छ र महिला भनेको त्यस वासनाको पूर्तिका लागि मात्र रहनुपर्छ भन्ने सोच अझै पनि यो समाजमा छ । महिला भनेको केवल बच्चा पाउने मेसिन र खाना बनाउने व्यक्ति मात्र हो भन्ने पितृसत्ता उपज हो ।

नेपालका कैयौँ भूभागमा अझै पनि बोक्सी भनेर थुप्रै महिलाहरूलाई नामकरण गरिन्छ । थुप्रै जुनुहरू हाम्रै वरिपरि छन् जसलाई मानसिक रोगी बनाउन यो समाज हरतम तयार अवस्थामा छ । “बोक्सीको घर” चलचित्रले नेपाली समाजको तीतो यथार्थ बोकेको छ । महिलाको जीवनमा जन्मेदेखिको मृत्युसम्म उसले भोग्नुपरेका थुप्रै व्यथा र पीडाहरू देखाइएको छ ।

पात्रहरूले आफ्नो भूमिका राम्रोसँग दर्शाउनुभएको छ । कथा निकै भावुक छ र वास्तविकले भरिएको छ । प्राय हामी चलचित्रका हिरोइनहरु राम्रा, चिटिक्क र आँखा लोभ्याउने खालका हुनुपर्छ भन्ने मानसिकता छ । यस चलचित्रमा केकी अधिकारीले जुनु भन्ने पात्र निकै राम्रोसँग निर्वाह गरेकी छिन् । त्योभन्दा पनि बढी “बोक्सी” भन्ने पात्र एउटा च्यालेन्जिङ पात्र हो । नेपाली चलचित्रमा प्रमुख कलाकारहरूले यस्तो पात्रहरूमा अभिनय गरेको निकै कम पाइन्छ । अधिकारीले निकै सजिलो तरिकाले प्रस्तुत गरेकी छिन् ।

नेपाली समाजको र पितृसत्ता एउटा सानो झल्को मात्र हो । यसभित्र रहेका थुप्रै व्यथिति, विसंगति, कुरितिहरूको कुरा गर्ने हो भने निकै नै दुःखलाग्दो अवस्था छ । अझै पनि महिलाहरू घरबाट बाहिर निस्किने अनुमति छैन । उसका रहर,इच्छा र भावनाहरूको कदर यो समाजले गर्दैन । एउटा साधारण महिला जसको कुनै मानसिक रोगको पृष्ठभूमि छैन। उसलाई यतिसम्म बाध्य बनाइन्छ कि ऊ डरलाग्दा मानसिक रोगहरूबाट गुज्रिनुपर्छ । समाजमा सबै खराब प्रवृत्तिका पुरुषहरू मात्र पाइन्छ भन्ने होइन । चलचित्रमा देखाए अनुसार समाजमा त्यस्ता व्यक्तिहरू पनि छन् जो अलि प्रगतिशील हुन्छन् तर कतै न कतै यही समाजमा बाँधिएकाले कहिलेकाहीँ यसको सञ्जाल तोड्न पनि निकै कठिन हुन्छ । पुरुष मात्र नभई महिलाहरूलाई पनि त्यत्तिकै गाह्रो छ । यहाँ यस्तो जन्जिर छ जसलाई तोड्न एकजनाले मात्र होइन सबै मिल्यो भने मात्र सम्भव हुन्छ । जब महिला र पुरुषलाई एकै स्थानमा राखिन्छ तब मात्र समाज अघि बढ्छ र प्रगतिको बाटो तर्फ लाग्छ ।

पुस्तौँदेखि चलिआएको महिला र पुरुष बीचको यो विभेदलाई अन्त्य गर्नका निम्ति सम्पूर्ण युवाहरू एकजुट भई यहाँका थुप्रै व्यथिति, विसंगति र कुप्रथाहरूको अन्त्य गर्न आवश्यक छ । अनि मात्र हामीले सोचेको सुनौलो भविष्यको कल्पना गर्न सक्छौँ । जुन जस्तै पात्रहरूलाई बचाउन हामीले आफ्नो स्थानमा रहेर सकेको भूमिका निर्वाह गर्नुपर्छ ।

प्रतिक्रियाहरु