सेना दिवसमा नेपाली सेनाले के गर्दैछ ?

२०७४ माघ २९ गते, सोमबार

काठमाडौं, २९ माघ । मुलुकको प्रमुख सुरक्षा अंगकोरुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदैछ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मंगलबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिकारुपमा सहभागी हुनेछिन् । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसकारूपमा मनाउँदै आएको छ । सैनिकमञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड (शस्त्राभ्यास), प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुनेछन् ।
नेपाली सेनाको ब्यान्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्यान्डसँग मिलेर संयुक्तरुपमा गीति नाट्य प्रस्तुत् गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतिशवाजीसमेत गरिनेछ । उक्त समारोह अपराह्न ५ बजे सुरु भइ करिब साँझ ७ बजेसम्म चल्नेछ । नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिकारुपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुन् । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममासमेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । सेना दिवसकै उपलक्ष्यमा जंगीअड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
द्रुतमार्गदेखि विश्वशान्तिको जिम्मेवारी
नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमान राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एसियामा नेपालमात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ । वर्तमान सेनाको सांगठनिक स्वरुपको सुरुआत १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा ६३ सैनिकको बलिदान भइसकेको छ भने सोही संख्यामा घाइते छन् । नेपाली सेनाले अहिले राष्ट्रिय सुरक्षाको अतिरिक्त काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणदेखि विश्वशान्ति स्थापनासम्मका जिम्मेवारी पाएको छ । सबैभन्दा बढी चर्चामा रहेको राष्ट्रिय गौरवको महत्वाकांक्षी आयोजना द्रुतमार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा अहिले अघि बढिसकेको छ । सेनाले द्रुतमार्गको जिम्मेवारीलाई निकै ठूलो अवसर र चुनौतीकारुपमा लिँदै निर्धारित् समयमै पूरा गरेर विकास निर्माणमा पनि कीर्तिमान कायम गर्ने अठोट गरेको छ ।
अन्य मुलुकका लागि पाठशाला
संयुक्त राष्ट्रसंघमार्फत् विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ ओटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् । हाल नेपाली सेना कंगो, लाइबेरिया, दक्षिण सुडान, सुडान, मरोक्को, इजरायल, लेबनान, माली, सिरिया, सेन्टर अफ्रिकन गणतन्त्र, इराक र लिबियामा शान्ति सेनाकारुपमा परिचालित छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल छैटौं स्थानमा छ । सेना र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली र अन्य मुलुकका सेनाका लागिसमेत अहिले नेपाली सेनाको संगठन, पेसागत क्षमता र दक्षता पाठशाला बन्दै गएको छ । विश्वका कुनैपनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच पछिल्लो समय शान्ति सेनाकारुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । नेपाली सेनाको हालको जनशक्ति झन्डै ९५ हजारको हाराहारीमा छ । पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री भन्छन्–‘नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बकारुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहनेछ ।’ ‘देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखन्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएको छ’–उनी भन्छन् ।
राजनीतिक हस्तक्षेत्रबाट मुक्त संगठनकारुपमा रहेको नेपाली सेना सबै जातजातिको साझा फूलबारीकारुपमा रहेको छ । पोदारदेखि क्षत्रीसम्म २०६ थर र जातजाति रहेको यो संगठनमा विविधताभित्र एकता देखिन्छ । पछिल्लो समय नेपाली सेनामा महिला जनशक्तिको सहभागितामा पनि उल्लेख्यरुपमा वृद्धि हुँदै गएको छ । राष्ट्रिय सुरक्षासँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।- नारायणप्रसाद न्यौपाने (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार