प्रधानन्यायाधीशको राजीनामा माग्दै अनशन सुरु

२०७४ पुष २४ गते, सोमबार

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले आजदेखि त्रिवि शिक्षण अस्पताल परिसरमै आमरण अनशन सुरु गरेका हुन् । डा. केसीले प्रधानन्यायाधीश पराजुली ‘भ्रष्ट र माफिया’ भएको भन्दै नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाएका छन् ।
न्यायाधीशहरुले न्यायालयलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै डा. केसीले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश पराजुलीविरुद्ध लड्नुको विकल्प नभएको जिकिर गरे ।
डा. केसीले आफ्ना मागहरुमध्ये प्रधानन्यायाधीश पराजुलीको राजीनामालाई मुख्य बुँदा बनाएका छन् । उनले पराजुलीमाथि छानबिन र कारबाहीको मागसमेत गरेका छन् ।
यस्तै, आइओएमको डीनमा डा. जेपी अग्रवाल नै कायम रहनुपर्ने, चिकित्सा शिक्षा आयोग गठन हुनुपर्ने, डा. शर्मा तथा त्रिविका पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग पनि उनका रहेका छन् । डा. केसीको यो १४औंपटकको अनशन हो । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डा. केसी यसअघि १३ पटक अनशन बसिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु