‘पार्टी एकता गोठालाले काँध मिलाए जस्तो होइन ‘

२०७४ माघ २९ गते, सोमबार

काठमाडौं, २९ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकता ‘गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो’ सहज नभएको बताएका छन् । नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले माओवादीसंग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेकाले एकता भन्दा पहिला संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु पर्ने बताए । ‘एउटाले अध्यक्ष र एउटाले प्रधानमन्त्री लिएर मिल्नु नि भन्ने कुराका बान्की सुनिन्छ’ पोखरेलले भने, ‘मिल्नका लागि बिचारमा एकता हुनुपर्यो नि ! गाइबस्तु हेर्न गएका गोठालाले काँध मिलाए जस्तो हो र पार्टी एकता ?’
‘माओवादीको ४ हजार सदस्यको केन्द्रीय समिति छ, एमालेको २ सयको, दुवै पार्टीका माथिदेखि तलसम्म मिलाउनु पर्यो’ पोखरेलले भने, ‘एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन, एउटा डालोको चामल अर्कोमा खनाइने जस्तो होइन होला ।’ संगठनको मामिलामा आनकातान फरक रहेको भन्दै उनले मिल्नका लागि समान आधार चाहिने बताए ।
‘एमाले पार्टी एउटा स्टक्चरमा निर्माण भएको पार्टी हो, एकआध नेतृत्व यता हुँदा ठम्म ठम्म हिड्छ’ पोखरेलले भने, ‘एकता भनेको नो मोर माओवादी नो मोर एमाले हो, यो मनस्थितीबाट पो चल्नु पर्छ ।’ सरकार पहिला कि पार्टी एकता भन्ने बहस चलिरहेको समयमा एमाले महासचिव पोखरेलले संविधान र संसदको तालिका अनुसार सरकार गठन हुने तर पार्टी एकताका लागि समय लाग्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु