खेल मैदानमा झगडा गर्ने खेलाडीलाई ५ खेलमा प्रतिबन्ध

२०७६ पुष २५ गते, शुक्रबार

काठमाडौं , २५ पुष । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगमा खेल मैदानमै झगडा गर्ने ६ जना खेलाडीलाई कारबाही गरेको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तगर्त पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेललगत्तै दुबै टोलीका खेलाडी मैदानमै झगडामा उत्रिएका थिए ।
एन्फाले जारी गरेको सूचना अनुसार मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेलमा प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई दश हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । अन्य ४ खेलाडीलाई २/२ खेल प्रतिबन्ध लगाएको जनाइएको छ । मनाङकै फरवार्ड रञ्जन विष्टलाई पनि दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई पनि दुई-दुई खेलमा प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ ।
त्यसैगरी, मनाङका किट्स व्यवस्थापक शिव लामामाथि लिगको बाँकी खेलका लागि प्रतिबन्धसँगै दश हजार रुपियाँ जरिवाना तोकिएको छ । टिम बेञ्चमा अनुशासन कायम राख्न नसकेको भन्दै अनुशासन समितिले मनाङ र मच्छिन्द्र दुबै टोलीमाथि पचास-पचास हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु