आगो , सपना र जुलुस – बलराम तिमल्सिना

२०७६ असार ५ गते, बिहीबार

कुनै समय थियो
सपनासँग आगो थियो
जुलुससँग सपना थियो
यसरी,
आगो, सपना र जुलुस
नङ र मासुजस्तै अविभाज्य
र एक अर्काका प्रिय साथी थिए
मान्छे,
कुनै सुदुर भविष्यको यात्रामा थियो ।

अचेल,
सपना छ तर आगो छैन
जुलुस छ तर सपना छैन
एकातिर आगो
एकातिर सपना
र एकातिर जुलुस
सवै एक्ला एक्लै बनेका छन्
मान्छेहरू,
जुलुसमा पनि एक्ला एक्लै छन् ।

भोक अहिले पनि छ
अझ गहिरो बनेको छ
भोकको उपत्यका
विभेद अहिले पनि छ
अझ आकासिएको छ
विभेदको पर्खाल
शोषण दमन र उत्पीडनले
चित्र मात्रै वदलेका छन
चरित्र होइन
झुल्किएको एक अञ्जुली घाम खोस्न
हुनेखानेहरूकै कुस्ती चलेको छ
देखिन त घाम अलिकति
झुपडीबाट पनि देखिन्छ
तर बरफको ढिक्काजस्तो चिसो छ त्यो ।

सपना हराएपछि जुलुसबाट
जुलुसहरू जुलुसजस्ता छैनन्
ती,
मलामीका मौन लस्करजस्ता छन्
आगो हराएपछि सपनाबाट
सपनाहरू सपनाजस्ता छैनन्
सुकेनाश लागेर
घिटिघिटि गरिरहेको बच्चाझैं
सुकेर , खिएर, शक्ति गुमाएर
चिता-चिहानको पर्खाइमा छन्
सपनाहरू !

आगोसँग नजोडिएको सपना
र,
सपनासँग नजोडिएको जुलुस
एउटा नयाँ खाले ठगी मात्र हुने रहेछ
एउटा दुखको नयाँ उपक्रम हुने रहेछ
त्यही ठगी धन्दामा निर्लिप्त छ अचेल
हामी वाँचेको वर्तमान्
त्यही भयानक दुखको
चक्रव्युँहमा छ जुलुस अचेल ।

एउटा कष्टसाध्य जोखिम मोलेर भए पनि
एकै ठाउँमा जम्मा गर्नु छ
आगो, सपना र जुलुसलाई
र सुरु गर्नु छ-
अर्को एउटा लम्वे अभियान ।

सोच्नोस त
यो आगो निभेको देश कति चिसो छ
कति कहाली लाग्दो छ
यो सपना मरेको समाज
कति मृतप्राय छ
र यो सपनाहीन जुलुस
कति अलमल र अस्तव्यस्त छ

प्रतिक्रियाहरु