अन्नपूर्ण पदमार्ग सुनसान

२०७५ आश्विन ९ गते, मंगलवार

काठमाडौं , ९ असोज । अन्नपूर्ण पदमार्ग बिग्रिएपछि विदेशी पर्यटकको आवागमन घटेको छ । लगातारको वर्षा र बाढीपहिरोका कारण
अघिल्ला वर्षहरुमा यही सिजनमा भरिभराउ हुने अन्नपूर्ण पदमार्ग यस पटक सुनसानजस्तै देखिएको छ । पर्यटन व्यवसायी नरबहादुर गुरुङले अन्नपूर्ण पदमार्ग बिग्रिँदा बुकिङ गरेका पर्यटकले पनि भ्रमण रद्द गरेको जानकारी दिए । फाट्टफुट्ट आएका पर्यटक पनि जोखिम मोलेर हिँडेका छन् । गत भदौ २७ गते आएको भीषण वर्षा र बाढीपहिरोका कारण पदमार्ग बिग्रिएको छ ।
अन्नपूर्ण पदमार्गका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन समय लाग्दा आवागमनमा समस्या भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले गतवर्षको तुलनामा यसपटक भदौबाट पर्यटक आगमन घटेको बताए । पोखरा, काठमाडौं र बेंसीसहरबाट आउने पर्यटकलाई पुरानो पदमार्ग प्रयोग गर्न सुझाव दिएको बताइएको छ । यो सिजनमा दैनिक सयभन्दा बढी पर्यटक आउनुपर्नेमा ६०÷७० को संख्यामा मात्र आउने गरेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रियाहरु