नेकपाद्वारा बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न आग्रह

२०७९ श्रावण १८ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग जोडदार माग गर्दै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन् ।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा प्राकृतिक विपत्तिवाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै साहस र संयमताका साथ यस विपत्तिको सामना गर्न वेलकाका प्रभावित जनसमुदायमा पार्टी विशेष अनुरोध गरिएको छ । साथै जोखिममा परेका बेलकाबासी जनताको सुरक्षित स्थानमा स्थानान्तरण, तत्काल उद्धार गरि सुरक्षित स्थानमा वासको व्यवस्था र आवश्यक राहतको व्यवस्था गर्न नेपाल सरकारसँग विशेष मागसमेत गरिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ – ‘वर्षाका कारण कोशी नदीको बहाव बढ्न गई उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ८ लाहुरे खोच डुम्रीवोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका छन् । यस प्राकृतिक विपत्तिवाट भएको क्षतिप्रति हाम्रो पार्टी दुख व्यक्त गर्दछ । साथै साहस र संयमताका साथ यस विपत्तिको सामना गर्न वेलकाका प्रभावित जनसमुदायमा पार्टी विशेष अनुरोध गर्दछौँ ।
जोखिममा परेका बेलकाबासी जनताको सुरक्षित स्थानमा स्थानान्तरण, तत्काल उद्धार गरि सुरक्षित स्थानमा वासको व्यवस्था र आवश्यक राहतको व्यवस्था गर्न नेपाल सरकारसँग पार्टी विशेष माग गर्दछौँ । प्राकृतिक प्रकोप र दुःखमा परेका जनताको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न उदयपुर जिल्ला पार्टीलाई विशेष निर्देशन गर्दछौँ ।
अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ साथै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु