नेकपाद्वारा कोरोना महामारीविरुद्ध जुध्न अपिल

२०७८ बैशाख १६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका सम्पूर्ण समितिहरू, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायलाई समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयम्सेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ। सो पार्टीका महासचिव विप्लवले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरी सरकारलाई महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा स्वयम्सेवकहरू परिचालन गर्न सुझाव दिँदै यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको समेत अवगत गराएका छन् ।
महासचिव विप्लवले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘कोरोना महामारीले नेपाल फेरि आक्रान्त भएको छ र बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको छ । यो अवस्थासँग जुध्न सरकारले बन्दाबन्दीलगायत अभियान सञ्चालन गरेको छ तर त्यो आफँैमा पर्याप्त देखिँदैन ।’

महासचिव विप्लवले अगाडि भनेका छन्, ‘यसप्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।’

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसप्रकारको महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयम्सेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु ।’

प्रतिक्रियाहरु