सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति

२०७७ फाल्गुन २० गते, बिहीबार


काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको छ । आजको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली संयोजक एवम् प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट पनि सार्वजनिक गरिएको छ ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख गर्दै प्रेस नोटमा नेपाल कम्युनिस्ट पार्टीले सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति गरेको छ । सहमत्तिको विस्तृत विवरण भने फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहमा गरिने विज्ञप्तिमा जनाइएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वार्ता टोलीको प्रेस नोटमा भनिएको छ, ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् । सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुने छ ।’
सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रियाहरु