नेकपाद्वारा सिलवाललाई तत्काल रिहा नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी

२०७७ माघ ९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका मोरङ जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य डीबी सिलवाललाई तत्काल रिहा नगरे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । सो पार्टीको मेची–कोसी ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीका मोरङ जिल्ला इन्चार्जसमेत रहेका ब्युरो सदस्य डीबी सिलवाललाई सरकारले बिनाकारण गिरफ्तार गरी मिक्लाजुङ कारबाहीसँग जोडेर फसाउन खोजेको भन्दै अविलम्ब रिहा नगरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिएको हो । ब्युरो इन्चार्ज प्रकाशले शुक्रबार जारी गरेको विज्ञप्तिमा डीबी सिलवाललाई मोरङ मिक्लाजुङ गाउँपालिकामा राज्यद्वारा परिचालित सुराकी राजेन्द्र श्रेष्ठमाथि गरिएको जनकारबाहीसँग जोडेर उक्त कारबाहीमा संलग्न भनी प्रचार गरी फसाउन षड्यन्त्र गरिएको भन्दै आक्रोश पनि व्यक्त गरएको छ ।
ब्युरो इन्चार्ज प्रकाशद्वारा विज्ञप्तिमा भनिएको छ – ‘२०७७/१०/०७ गते बुधबार हाम्रो पार्टीका मेची–कोसी ब्युरो सदस्य एवम् मोरङ जिल्लाका इन्चार्ज कमरेड डीबी सिलवाललाई पार्टी काममा खटिरहेको अवस्थामा मोरङ बूढीगङ्गा गाउँपालिकाबाट वली नेतृत्वको सामाजिक फासिवादी सरकारका प्रहरीहरूले गिरफ्तार गरेका छन् । जनविरोधी सरकारको यसप्रकारको दमन र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दै गिरफ्तार गरिएका कमरेडको रिहाइको माग गर्दछ । कमरेड डीबी सिलवाललाई मोरङ मिक्लाजुङ गाउँपालिकामा राज्यद्वारा परिचालित सुराकी राजेन्द्र श्रेष्ठमाथि गरिएको जनकारबाहीसँग जोडेर उक्त कारबाहीमा संलग्न भनी प्रचार गरी फसाउन खोजिएको षड्यन्त्रप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारद्वारा लगाइएको यसप्रकारको कथित आरोप तथा षड्यन्त्रको सत्यतथ्य छानबिन गर्न हाम्रो पार्टी नागरिक समाज र सम्पूर्ण मानवअधिकारवादी सङ्घसंस्थालाई अनुरोध गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला वली नेतृत्वको सामाजिक फासिवादी सरकार आफ्नै जनविरोधी कार्यशैलीका कारण पतनको सँघारमा छ । आफ्नै कारण उत्पन्न सत्ता सङ्कटलाई विषयान्तर गर्न र आफ्नो आयु लम्ब्याउन मुलुकलाई जानाजान द्वन्द्वतर्फ प्रवेश गराउन खोजिरहेको वली सरकार हाम्रो पार्टीमाथि अझ हिंश्रक दमनमा उत्रिएको छ । यसले वली सत्ताको सङ्कट टाल्ने नभएर अझ धेरै र चाँडो च्यातिने निश्चित छ । साथै यसले वैज्ञानिक समाजवादी सत्ता स्थापनालाई अझ निकट बनाउँदै लगेको छ । पूर्व क्षेत्रमा वली सरकारले चलाएका सम्पूर्ण दमन रोक्न र गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न चेतावनी दिन चाहन्छौँ । अन्यथा सशक्त प्रतिरोध गरिनेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु