एकादेशमा एक दिन

बलराम तिमल्सिना २०७७ कार्तिक ३० गते, आईतवार

एकादेशमा एक दिन
एउटा भूतपूर्व स्पार्टाकस
सरदारलाई कमरेड बनाउँछु भनेर हिड्यो
केही महिनाको कठोर साधनापछि
आफैं गद्दार बनेर फर्कियो
केही थान अभागीहरू
उसको जयगान गाउँदै
उसैको पछि पछि लागे !

एका देशमा अर्को दिन
एक हुल मानिसहरू
राता झण्डाहरू बोकेर
सुँगुरहरूलाई सपार्न भनेर खोरमा छिरे
महिनौं वित्दा पनि
ती कोही पनि निस्केनन्
बरु अचानक एक दिन
सुँगुरहरू झण्डा बोकेर खोरबाट निस्के
झण्डाको मोहले लठ्ठिएर
एक हुल वालवृध्दहरू
सुँगुरको पछि पछि लागे !

एका देशमा फेरि अर्को दिन
एक हुल कसाहीहरू
अप्रेशन थियटरमा छिरे
बन्चरा खुकुरी र तरवार बोकेर
केही घण्टाको परिश्रमपछि
ती कोही देशका साँप्रा बोकेर
कोही मुटु कलेजा र ह्याकुला बोकेर
राष्ट्रवादी गीत गाउँदै बाहिरिए
हत्यारा दिलका केही मान्छेहरू
जय राष्ट्रवाद भन्दै पछि लागे !

एका देशमा एक दिन
यी भन्दा बेग्लै र विपरित घटना घट्ने छ
आज रोएकाहरू
उफ्री उफ्री हाँस्ने छन्
आज हाँसेकाहरू
छात्ती पिटी पिटी रुने छन्
त्यसपछि नयाँ कथा लेखिने छ !

कथाकारहरू हो !
नयाँ कथाको प्लट तयार गर
कागज र कलम ठिक्क पार
एका दिनमा एक दिन
अहिलेसम्म नलेखिएको कथा जरुर लेखिने छ !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु