पैतालाको प्रतिवाद !

बलराम तिमल्सिना २०७७ आश्विन २१ गते, बुधबार

म तिमीले पूज्य मानेर पत्याएको
शास्त्रले भनेको पैतालाबाट जन्मेको
निच, शूद्र,अछुत !
तिमीसँग दुई विकल्प छन् –
कि शास्त्रलाई अछुत घोषणा गर
कि मलाई अछुत घोषणा गर
तिमी कुन विकल्प रोज्छौ ?
म वेद सुनेको आरोपमा
फलाम पगालेर कानमा हालिएको
तिम्रो शास्त्रले भनेको कुजात
अब भन-
वेद जलाएर खरानी पार्छौ
या अझै मलाई जलाइरहन्छौ ?
म तपस्या गरेको आरोपमा
तिम्रो मर्यादा पुरुषोत्तमले
शिरोच्छेदन गरेको शम्बूक हुँ
तिमी दुई कुरा रोज्न सक्छौ
पुरानै मर्यादामा घिसारिने
या मलाई पनि मर्यादा गर्न सिक्ने !
म आफैंले बनाएको मन्दिरमा पस्न
र आफैले बनाएको मूर्तीलाई ढोग्न
तिमीद्वारा प्रतिबन्धित
एउटा बहिस्कृत मानव हुँ
अव के गर्छौ भन ?
मलाई अझै रोकेर राख्छौ
या मेरो मूर्ती मलाई फिर्ता गर्छौ ?
म तिमीले यात्रा शुरु गर्दा
अगाडि देखिएँ भने
साइत बिगार्ने डाङ्ग्रो हुँ
अब मलाई
कुनै सुदुर भूगोलमा निर्वासित गर्छौ
या आफ्नो पुरानो खप्पर फुटाउँछौ ?
म तिमीले भन्ने गरेको
ईश्वरको सन्तान मान्छेको भाइ हुँ
तिम्रो हजुरबा उमेरको मलाई
लाज नमानी भाइ भन्छौ
या आफूलाई परिस्कार गर्छौ ?
अव एउटा कुरा रोज
तिम्रा शास्त्रहरूमा पुगिसकेका
मेरा आँखा फुटाऊ
या शास्त्रहरू च्यात !
मलाई टाट्नामा बाँधेर घाँस हाल
या घाँस खान तयार होऊ !
यो एक्काइसौ सताव्दिको घाम
अव तिमीले मात्र ताप्न असंभव छ
कि आफूलाई तिमी
मनुको दोश्रो अवतार हुँ भन
या मनुलाई सामाजिक अपराधी घोषणा गर !
ए टाउको बनेर अहङ्कारमा वाँचेको मान्छे !
यो पैतालाको प्रतिवाद हो
पैतालाहरू उल्टो चल्न थाले भने
तिम्रो गन्तव्य वदलिन सक्छ
पैतालालाई हेप्नु पहिले ख्याल गर्नु !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु