कोरोनाको आशंका गरिएका युवा उपचार नपाएर अलपत्र !

२०७६ चैत्र ७ गते, शुक्रबार

काठमाडाैँ, ७ चैत । तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका छन् ।
कोरोनाको संक्रमण भएको आशंका गरिएका उनलाई अस्पतालले भर्ना लिन नमानेपछि नवलपरासीमा बिरामी र उनको परिवार अलपत्र परेका छन । स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् । चार वटा अस्पतालमा जाँदासमेत कसैले उनलाई भर्ना गरेका छैनन् । उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बिरामी ट्रक चालक हुन् । सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक पुर्‍याइएको र त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।
प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाएकोमा कोरोनाको लक्षण भन्दै काठमाडौं पठाएको थियो ।
तीन दिनसम्म अस्पताल खोज्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा पुर्‍याएका थिए । उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने सोचले पुन हिजो परासी अस्पताल ल्याएका थिए । सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाए पनि बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैर जिम्मेवार तरिकाले रिफर गर्दै गएको बिरामीको आफन्तले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत चार वटा आईसोलेशन बेड स्थापना गरिए पनि उनलाई त्यहाँ नराखी रिफर गरिएको हो । संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य सामाग्री नभएकाले रोग सर्न सक्ने कारण देखाउँदै चिकित्सकले बिरामीलाई हेर्न नमानेको बताउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बिरामीलाई त्यसरी बेवास्ता गर्नु गलत भएको जानकारी दिए ।

प्रतिक्रियाहरु