छठ पर्व मनाइँदै

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं, २७ कार्तिक । आज छठ पर्वको मुख्य दिन । सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ ।
छठका लागि तराईसहित विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्ने गर्दछन् । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर यो पर्व मनाउने गर्दछन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ मनाउने गरिन्छ । आदीकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।
जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुको घुईंचो लाग्ने गरेको छ । वीरगन्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझमका साथ यो पर्व मनाइँदै छ । नवलपरासीमा पनि उसैगरी धुमधामसँग यो पर्व मनाइन्छ । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजा गर्ने गरिन्छ । सप्तरीको कोशी ब्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईँदै छ । कोशी ब्यारेजमा भारतको पूर्णिया, फारबीसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन ब्रतालु ओरिएका छन् ।
उता, झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर उल्लासका साथ छठ मनाउँदै छन् । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा धूमधामका साथ छठ मनाइँदै छ । काठमाडौंमा केही वर्ष यता निकै धूमधामका साथ छठ मनाउन थालिएको छ ।

प्रतिक्रियाहरु