उड्ने बाइकको बुकिङ खुला

२०७५ कार्तिक २६ गते, सोमबार

काठमाडौं, २६ कात्तिक । रसियन टेक कम्पनी ‘होभरसर्फ’ ले उड्ने बाइक बनाउनुका साथै अग्रिम बुकिङ समेत थालेको छ। कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ ।
कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको मूल्य डेढ लाख अमेरिकी डलर पर्ने बताएका छन् । आधा घन्टा भन्दा कम समय मात्र यसको उडने क्षमता छ । थोरै समयका लागि उडान भर्ने क्षमता रहेको यो बाइक मानिसका लागि ‘खतरनाक’ भएको समेत विज्ञहरुले बताइरहेका छन् ।
दुबई प्रहरी बलले यो क्राप्टको प्रयोग गर्ने योजना बनाई सकेको छ । उसले यसका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ । ‘स्कर्पियन होभरबाइक’ नामले समेत परिचित यो बाइक दुबई प्रहरी बलले खरिद गरी परीक्षण समेत गरिसकेको छ । उसले परिक्षण उडानका क्रममा देखिएको कमजोरीहरु हटाउन सुझाव पनि कम्पनीलाई दिइसकेको छ।
रिमोट–कन्ट्रोल ड्रोन मोडमा यो बाइकको उडान समय ४० मिनेटसम्म बढाउन सकिने कम्पनीका इन्जिनियरहरुले जनाएका छन् । सामान्य पार्किङ स्थलहरुमा समेत उडान भर्ने र अवतरण गर्न सक्ने क्षमता यसको रहेको छ । ट्राफिक जाम हुने सहरहरुमा ट्राफिक प्रहरीले सजिलै प्रयोग गर्न सक्छन् ।
यसले यातायात सेवालाई सडकमा सुचारु गराउनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गर्नेछ । कम्पनीका अनुसार क्रेताले एउटा होभरबाइक एसथ्री २०१९ का लागि प्रि–अर्डर स्वरुप तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ । बुकिङ गरेको दुई देखि ६ महिनाभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु