भोलि नेपाल बन्द

२०७५ बैशाख २१ गते, शुक्रबार

काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले केपी ओली नेतृत्वको सरकारले फाँसिष्ट र निरंकुश शैलीमा दिन दाहाडै आफ्ना नेता , कार्यकर्ता र शुभचिन्तकमाथी धरपकड ,गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै भोलि नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका हुन् ।
नेकपाका महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भनें भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ ।
नेकपाका महासचिव विप्लवले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारले आफ्नो पार्टीका शान्तिपूर्ण राजनीतिक आन्दोलानमा सहभागी भइरहेका बेलामा दर्जनौं संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार र झुठा मुद्दा लगाएर फासिस्ट हर्कत जारी राखेकोमा आक्रोश पोखेका छन् । १२ जना नेताकार्यकर्तालाई फासिस्ट केपी सरकारले बेपत्ता पारेको समेत जारी वक्तव्यमा उल्लेख गरेका छन् ।
सरकारले नागरिकले स्वतन्त्र रुपमा विचार राख्ने, सभा जुलुस तथा राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि बन्देज लगाएको र राष्ट्रघात, जनघात, भ्रष्टाचारी, कालोबजारीको विरोध गर्दै जनतालाई संगठित बनाउने काम भेला, सम्मेलन, अन्तक्र्रिया गरिरहेका बेला बाटो र कार्यक्रमस्थलबाट सरकारले प्रहरीले लगाएर अपहरण शैलीमा गिरफ्तार गर्ने र बेपत्ता पार्ने काम गरेको भन्दै सरकारको रवैयाको महासचिव विप्लवले घोर भत्सर्ना गरेका छन् । सरकारको फासिस्ट रवैया र दमन नरोकिए प्रतिरोध गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका छन् ।
नेकपा निकट युवा संगठनका अध्यक्ष बाबुराम राई ‘विवस’ महिला संगठनका महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’, पार्टीका केन्द्रीय सदस्य किरण राई, विद्यार्थी संगठनका महासचिव प्रकाश शाहीलगायत जिल्लाका प्रमुखहरुलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दा लगाएको भन्दै नेकपाले प्रतिरोध गर्ने चेतावनी दिएको हो । गिरफ्तार सबैलाई बिनासर्त तत्काल रिहा गर्न पनि जोडदार माग गरिएको छ ।
सरकारले दुई दिनअघिमा ललितपुर जिल्ला सेक्रेटरी विपिन शर्मा, मकवानपुर सेक्रेटरी रामबहादुर घलानसहित दर्जन नेता कार्यकर्तालाई विभिन्न आरोपमा गिरफ्तार गरी हिरासत राखिराखेको छ । नेकपाका नेता कार्यकर्तामाथि देशैभर सरकारले दमन, धरपकड र यातनालाई तीव्रता दिइँदै आएको छ ।
यसैगरी सोही विज्ञप्तिमा यही बुधबार मात्र कञ्चनपुरको बिचफाँटामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर अतिक्रमणकारी हर्कत जारी राख्दा समेत केपी सरकारले मौन बसेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।
नेकपाका महासचिव विप्लवद्वारा जारी प्रेस वक्तव्यमा बन्द कार्यक्रमलाई साथ दिन न्यायप्रेमी, देशभक्त, वामपन्थी र प्रगतिशील पक्षहरुसँग अपिल समेत गरिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु