नयाँ शक्तिद्वारा अन्तरिम परिषद् घोषणा (नामावली सहित )

२०७२ माघ १० गते, आईतवार

काठमाडौ, १० माघ । नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रिय परिषद् घोषणा भएको छ । ड़ा. बाबुराम भट्टराई नेतृत्वको परिषद्द्वारा बुद्धनगरमा आयोजित कार्यक्रमका बीच सो घोषणा भएको हो । परिषद्को संयोजक भट्टराई छन् । परिषद्मा ३५ जना सदस्य छन् ।
यस सन्दर्भमा ड़ा .बाबुराम भट्टराईले जारे गरेको
प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ –
‘नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ !
वैकल्पिक राजनीतिको आधार तयार गरौं !!
प्रिय पत्रकार मित्रहरु !
सर्वप्रथम हामी नयाँ शक्ति निर्माण अभियानको यो कार्यक्रममा तपाईंहरुलाई हार्दिक स्वागत गर्दछौं । यो सुखद क्षणमा हामी नेपालको संघीयता, लोकतान्त्रिक गणतन्त्र र परिवर्तनको लडाइँमा शहादत प्राप्तगर्नु हुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दछौं । शहीदहरुले देखेको सम्बृद्ध, न्यायपूर्ण र सुशासित नेपाल बनाउने सपना पूरा गर्न हामी बचनवद्ध छौं । यही वाचाका साथ देश–विदेशमा रहनुहुने सबै नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई नयाँ शक्ति निर्माण अभियानमा साथ, सहयोग र सहकार्य गर्नकालागि हार्दिक आह्वान गर्दछौ ।

नयाँ शक्ति निर्माण अभियानको तर्फबाट हामीले विगत तीन महिनामा देशका विभिन्न जिल्लाहरुमा अनेकौं छलफल, अन्तरक्रिया र भेटघाटहरु गर्‍यौं । ती भेटघाटहरुमा हामीलाई हजारौं मित्रहरुको अपार माया, उत्साह र समर्थन प्राप्त भयो । अनेकौं युवा मित्रहरुले हामीलाई नयाँ शक्ति कस्तो बनाउने ? यसको राजनीतिक विचार, सिद्धान्त र संगठनात्मक प्रणाली कस्तो हुनुपर्छ ? हामी कसरी छोटो समयमै यो देशलाई सम्बृद्ध बनाउन सक्छौं ? जस्ता प्रश्नहरुमा मूल्यवान सुझावहरु दिनुभएको छ । तिनै सुझावहरुको आधारमा हामी अझ धेरै लोकतान्त्रिक, सम्बृद्धि–उन्मुख र सुशासित राजनीतिक दल बनाउन चाहन्छौं । हामी विगतका अनुभवहरुबाट सिक्दै नेपाली राजनीतिलाई जनउत्तरदायी, रचनात्मक, सुशासित र सद्भावपूर्ण बनाउन चाहन्छौं । यसकालागि नयाँशक्ति निर्माण अभियानलाई सुरुदेखिनै जनताको जुन गहिरो माया, सद्भाव र समर्थन प्राप्त भयो त्यसकालागि हामी आभारी छौं । हामी जनताको बिश्वासलाई कहिल्यै झुक्न दिनेछैनौं । यही विश्वासका साथ नयाँ शक्ति निर्माण अभियानको पहिलो प्रचारात्मक चरण उत्साहपूर्वक सम्पन्न भएको जानकारी गराउछौं । दोस्रो चरण राजनीतिक दल निर्माणको चरण हुनेछ । यो चरणलाई संस्थागत, दीगो र व्यवस्थित गर्न हामीले आजैबाट नयाँ शक्ति नेपाल, को अन्तरिम केन्द्रीय परिषद् निर्माण गरेका छौं । केन्द्रीय परिषद्ले दलको पहिलो राष्टि̭य सम्मेलन आयोजक कमिटी निर्माण, दलको अन्तरिम राजनीतिक तथा सांगठनिक कामहरुको व्यवस्थापन, नयाँ शक्तिको पक्षमा जनपरिचालन र समकालीन राजनीतिक समस्या समाधानकालागि संवादको पहल गर्नेछ । यसैगरी नयाँ शक्ति, नेपालको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सञ्चालन गरिएको समेत सहर्ष जानकारी गराउछौं ।

प्रिय पत्रकार मित्रहरु !

नेपालको संविधान २०७२ जारी भएपछि हामी नयाँ युगमा प्रवेश गरेका छौ । मूलत: राजतन्त्र र एकात्मक राज्यको अन्त्य, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्रको घोषणाले सामन्तवादको राजनीतिक उपस्थिति औपचारिक रुपमा अन्त्य भएको छ । यद्यपि संविधानको घोषणासँगै केही असन्तुष्टिहरु पनि उजागर भएका छन् । यसको अर्थ हाम्रा प्रमुख राजनीतिक कार्यभारहरु फेरिएका छन् । अव राजनीतिक अधिकार प्राप्तिको संघर्ष गौण र आर्थिक अधिकार सहितको राजनीतिक अधिकार मुख्य बिषय बनेको छ । उच्चदरको उत्पादन बृद्धि, भौतिक तथा मानवीय विकास, समन्याय र सम्बृद्धिका साथ प्रत्येक ब्यक्तिको क्षमताको पूर्णविकास र उपयोग हुनसक्ने समाजवाद–उन्मुख नेपालको निर्माण नेपाली राजनीतिको मुख्य कार्यभार भएको छ । तर यसको अर्थ यो होईन कि आर्थिक सम्बृद्धिको कार्यभारलाई राजनीतिले स्वतन्त्र छोडोस् । त्यसैले उद्यमशील पूँजी निर्माण, पूँजीको न्यायपूर्ण वितरण र सम्बृद्धिकालागि काम गर्नु अवको मुख्य राजनीतिक दायित्व भएको छ । राष्ट्रिय औद्योगिक पूँजीवादको जग निर्माण गर्दै समुन्नत समाजको रचना गर्नु नेपाली राजनीतिको मुख्यकार्यभार हो । उत्पादन र उत्पादकत्वको तीब्र बृद्धि गर्दै न्यायपूर्ण वितरणमा जानु आजको आवश्यकता हो । उत्पादनका साधनहरु माथिको स्वामित्व र पहुँचलाई न्यायपूर्ण वितरण सहित गरीवी र वेरोजगारीको अन्त्य, महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुश्लिम र पिछडिएको क्षेत्रको सामेलीमा देशलाई सम्बृद्ध बनाउनु आजको लोकतान्त्रिक, न्यायपूर्ण र प्रगतिशील राजनीतिको मुख्य कार्यभार हो । देशको उत्पादनशील युवा श्रमशक्तिलाई स्वदेशमै काम दिने र सम्बृद्धिकालागि युवाहरुको योगदानलाई अगाडि लैजाने दिशामा जानु आवश्यक छ । साथै भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई सदाचार र सुशासनयुक्त बनाउनु छ । यो कार्यभारलाई नयाँ शक्तिले पूरा गर्नेछ ।

देशमा तत्काल तीन वटा अन्तरद्वन्दहरुको ब्यवस्थापन गर्नुपर्ने छ । पहिलो: अगाडि बढेको औपचारिक राजनीतिक लोकतन्त्र र पछाडि पारिएको आर्थिक आधारको अन्त्य गर्नुछ । यसलाई सामाजिक न्याय सहितको तीब्र आर्थिक विकास र सम्बृद्धिको कार्ययोजनाले हल गर्नेछ । दोस्रो: देशको जातीय तथा क्षेत्रीय विविधता र विषमताबाट उत्पन्न अन्तद्र्वन्दलाई समाधान गर्नुछ । यसलाई मूलत: समानुपातिक समावेशी आधारमा प्रमुख जातीय समूह खस–आर्य, मंगोलमूलका आदिवासी जनजाति, मधेसी–थारु, मुस्लिम, दलित, अल्पसंंख्यक, महिला र युवाहरुलाई न्यायोचित संघीय संरचना र राज्यको अंगहरुमा पुर्‍याउनु छ । सामाजिक पहिचान सहित सहअस्तित्व, समन्याय र आत्मसम्मानको संस्कृति निर्माण गर्नु आजको आवश्यकता हो । तेस्रो: दुईठूला छिमेकी भारत र चीन बीचमा रहेको भूराजनीतिक अवस्थिति र सम्वन्धले सिर्जना गरेका चुनौति र अवसरहरुको समुचित व्यवस्थापन गर्नुछ । यसलाई विगतमा जस्तो दुई ढुंगा बीचको तरुलको मानसिकताले होइन दुई उदयीमान अर्थतन्त्रहरु बीचको गतिशील पुलको अवधारणा अन्तरगत कामगर्नुपर्छ । यसकालागि अझधेरै लोकतन्त्र, राष्टि̭य एकता, प्रगतिशील राष्ट̭वाद, सुशासन, समावेशीता, समन्याय, समाजवाद र सम्बृद्धिनै हाम्रा राजनीतिक प्राथमिकताहरु हुनेछन् । यिनै प्राथमिकताहरुलाई सैद्धान्तिकरण गर्दै नयाँ धारको वैकल्पिक राजनीति निर्माण गर्नु नयाँ शक्तिको राजनीतिक कार्यदिशा हुनेछ ।

साथीहरु !
धेरैको जिज्ञासा छ – नयाँ शक्ति कस्तो राजनीतिक दल बन्छ ? सयौं अनुभवी राजनीतिक कार्यकर्ता, विद्वान मित्रहरु र उर्जाशील युवाहरुले यो प्रश्नमाथि हामीलाई गम्भीर सुझावहरु दिनुभएको छ । हामी प्राप्त सबै सुझावहरुलाई सम्मानसाथ ग्रहण गर्दछौं । हामीले दस्तावेजहरु लेख्न सुरुवात गरेका छौं । एउटा लोकतान्त्रिक पार्टिकालागि दस्तावेजहरुको लेखन आफैंमा लोकतान्त्रिक हुनुपर्छ । यसर्थ यो प्रक्रियामा पनि हामी देश विदेशमा रहनुहुने धेरैभन्दा धेरै मित्रहरुको सुझाव लिन चाहन्छौ । आजसम्मका विभिन्न सुझाव र छलफलहरुका आधारमा हामी केही खास निश्कर्षहरुमा पुगेका छौ । जसका आधारमा हामी भन्न चाहन्छौं कि नयाँ शक्ति सहभागीतामूलक लोकतन्त्रलाई अभ्यास गर्ने नेपालकै पहिलो दल हुनेछ । त्यसैले यो दल निर्माणको प्रक्रिया पनि सहभागीतामूलक र लोकतान्त्रिक हुनेछ । हामी समाजका हरेक तह र तप्कामा बन्दैगएका हजारौं नयाँ शक्ति अभियानका स्थानीय समूहहरुलाई जोड्दै बिशाल दल बनाउने छौ । यो प्रक्रिया माथिवाट तलतिर जाने नभई तलबाट माथि जाने त्रिकोण आकारको हुनेछ । साथै यो दल नेता र कार्यकर्ताको मात्र नभै सम्पूर्ण नेपालीको होस भन्ने चाहन्छौं ।
नयाँ शक्ति मूलत: आधुनिक युगका चुनौति, आवश्यकता, चासो र सरोकारलाई सम्बोधन गर्ने अभिष्टवाट स्थापित राजनीतिक दल हुनेछ । सार्वजनिक जीवनमा विकास, सुशासन, सदाचार, समन्याय, स्वाधीनता, समावेशीता, सम्बृद्धि र समाजवादको कुरा गर्ने दलले आफ्नो पार्टी जीवन पनि तदनुरुप नै बनाउनु आवश्यक हुन्छ । अबको दलले उन्नाइसौं वा बीसौं शताब्दीका संगठनात्मक सिद्धान्तहरुको अनुशरण मात्र गरेर पुग्दैन बरु यो एक्काईसौं शताब्दिका आवश्यकताहरुबाट निर्देशित हुनुपर्छ । यसकालागि नेपाली जनताका नयाँ चेतना, ज्ञान, आवश्यकता र परिवर्तनका अपेक्षाहरु दलको जीवनमा पनि परिलक्षित गर्ने हाम्रो प्रयत्न हुनेछ ।
नयाँ शक्तिले आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा निरन्तर विकास गर्दै लैजानेछ । नयाँ शक्तिमा आवद्ध अभियन्ताहरुले दलको संगठनलाई सदैव चलायमान, रचनात्मक र जीवन्त बनाउने छन् । पार्टीलाई परम्परागत प्रतिनिधिमूलक लोकतन्त्र वा निर्देशित जनवादको अभ्यासमा सीमित गरिने छैन । दलभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिनेछ । दलमा सदस्यहरु नै सबैभन्दा उच्च, निर्णायक र सार्वभौम हुनेछन् । सदस्यहरुको सार्वभौमसत्ता नै दलको शक्तिको स्रोत हुनेछ । निश्चित वैधानिक ब्यवस्था अनुसार सदस्यहरुले गर्ने निर्णय नै दलको अन्तिम निर्णय हुनेछ ।
हामीलाई थाहा छ दल संरचनाहरुको लोकतान्त्रिक व्यवस्थापन दलका सदस्य तथा कार्यकर्ताहरुको निगरानी र नियन्त्रणबाट मात्र सम्भव छ । त्यसैले नयाँ शक्तिको दलीय संरचनामा प्रत्यक्ष र परिणाममुखी लोकतन्त्र (Direct Democracy), सुशासन, पारदर्शीता, जवाफदेहिता र विधिको शासनलाई अभिन्न बनाईनेछ । दलमा शक्ति पृथकीकरणको अभ्यास गरिनेछ । एक ब्यक्ति, एक कार्यकारी पद र दुई कार्यकाल, निर्वाचनमा अस्वीकारको ब्यवस्था, नेतालाई फिर्ता वोलाउने हक (Right to Reject and Right to Recall) जस्ता नयाँ व्यवस्थाले मात्र नयाँ शक्तिको दलीय जीवन नयाँ, अझ लोकतान्त्रिक र जीवन्त हुनेछ । हामी यस्ता नवीन अभ्यासहरुलाई नयाँ शक्ति निर्माण अभियानमा स्थापित गर्न चाहन्छौं ।
हाम्रो मुख्य उद्देश्य नै देशलाई सम्बृद्धिको त्यो उचाईमा पुर्‍याउने हो जहाँ उभिएर हामी गर्व गर्न सकौं । हामी सामाजिक न्यायसहितको सम्बृद्धि चाहन्छौं । हामीलाई थाहा छ फोस्रा भाषण, परम्परागत राजनीतिक ढर्रा, सिद्धान्तको वोझ र संकीर्णताबाट जनता मुक्ति चाहन्छन् । सम्बृद्धि नेपाली जनताको मुख्य अपेक्षा हो । हामी यो कार्यभार सहर्ष स्वीकार गर्दछौं । यो कार्यभार पूरागर्न हामी राष्टि̭य सम्बृद्धिका प्रारम्भिक, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाउने छौं । यसकालागि हामीले देश–विदेशमा क्रियाशील बिषय विज्ञहरुसँगको परामर्शलाई निरन्तरता दिनेछौं । यो काममा हामी सबैको, सदैव उत्कृष्ट विचारहरु सुन्न आतुर छौं ।
प्रिय मित्रहरु !
आजबाट हामीले नयाँ शक्ति नेपालको २६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गरेका छौं । साथै आजैबाट हामीले नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौमा सञ्चालनमा ल्याएका छौं । परिषद्ले दल निर्माणको सम्पूर्ण प्रक्रियालाई लोकतान्त्रिक र संस्थागत गर्दै अगाडि लैजानेछ । परिषद्ले केही महिनामै राष्टि̭य भेलाको आयोजना गरी पहिलो राष्टि̭य महाधिवेशन आयोजक कमिटीको गठन गर्नेछ । सो कमिटीले दलको पहिलो र ऐतिहासिक महाधिवेशन सम्पन्न गर्नेछ । दलको पहिलो महाधिवेशनपछि मात्र दल निर्माणको पहिलो र युगीन कार्यभार पूरा हुनेछ । यसैगरी दलको केन्द्रीय कार्यालय सञ्चालनकालागि सानो समूहले आजैबाट काम सुरु गरेको छ ।
यद्यपि यी कुनैपनि संरचना स्थायी होइनन् । यी सबै दलका कामलाई व्यवस्थापन गर्दै लैजाने अन्तरिम संरचनाहरु मात्र हुन् । हामी केही सीमित व्यक्तिहरुले पार्टी स्थापना गर्ने प्रक्रियामा नभई हजारौं संस्थापक हुने दल निर्माणको प्रक्रियालाई स्थापित गर्न गइरहेका छौं । आशा छ हाम्रो यो अभियानमा देश–विदेशका सम्पूर्ण दाजुभाइ, दिदीवहिनी, सामाजिक तथा राजनीतिक कार्यकर्ता, बिषय विज्ञ र सबै शुभेच्छुकहरुको सद्भाव र सहभागीता रहने छ । हामी स्वस्थ राजनीतिक प्रतिस्पर्धा र रचनात्मक साझेदारीको पक्षमा छौं । हामी पूर्वाग्रहपूर्ण राजनीतिको अन्त्य चाहन्छौं । हामी चाहन्छौं नेपाली राजनीति नयाँ संस्कृति, नयाँ शैली र नयाँ जिम्मेवारी वोधको युगतर्फ प्रवेश गरोस् । यसकालागि हामी वैचारिक र व्यवहारिक रुपमै अगुवाई गर्न चाहन्छौं ।
प्रिय साथीहरु !
हामी इतिहासलाई नयाँ आयाम दिन चाहन्छौं । हामीलाई थाहा छ, नयाँ शक्ति निर्माण हाम्रो जिम्मामा आएको ऐतिहासिक दायित्व हो । देश र जनताको सम्बृद्धि बाहेक हाम्रो कुनै निजी अभिष्ट छैन । यसकालागि हामी निरन्तर सचेत प्रयत्न गरिरहने छौं । हामीलाई विश्वास छ नेपाली जनताको अपार सहयोग, सद्भाव र ऐक्यवद्धताबाट हाम्रो लक्ष्य पूरा हुनेछ । हामी सम्बृद्ध नेपालको महान लक्ष्यकालागि सबै न्यायप्रेमी र परिवर्तनकामी जनतासँग हातेमालो गर्न तयार छौं ।
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति नेपाल, अन्तरिम केन्द्रीय परिषद्
२०७२ माघ १०

नयाँ शक्ति, नेपालका मुख्य विशेषताहरु
१. पूँजीको न्यायपूर्ण वितरण र सम्बृद्धिको लागि राष्ट्रिय औद्योगिक पूँजीवादको जग निर्माण गर्दै समुन्नत समाजको रचना ।
२. समानुपातिक समावेशी आधारमा प्रमुख जातीय समूह खस–आर्य, मंगोलमूलका आदिवासी–जनजाति, मधेसी–थारु, मुस्लिम, दलित, अल्पसंंख्यक, महिला र युवाहरुलाई न्यायोचित संघीय संरचना ।
३. प्रत्यक्ष र परिणाममुखी लोकतन्त्र, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासन ।
४.एक व्यक्ति एक पद, निर्वाचनमा अस्वीकारको व्यवस्था तथा नेतालाई फिर्ता बोलाउने हक (Right to Reject and Right to Recall)
५. विकास, सुशासन, सदाचार, समन्याय, स्वाधीनता, समावेशीता, सम्बृद्धि र समाजवाद ।

नयाँ शक्ति नेपाल, अन्तरिम केन्द्रीय परिषद्
२०७२ माघ १०

संयोजक
१. डा. बाबुराम भट्टराई गोरखा
परिषद् सदस्यहरु
२ अशोक शर्मा झापा
३ ऋषवदेव भट्टराई चितवन
४ कमला हेम्चुरी पाल्पा
५ करिश्मा मानन्धर काठमाडौं
६ केशव दाहाल सुनसरी
७ डा. केशवमान शाक्य काठमाडौं
८ गणेशराज राई भोजपुर
९ डा. चैतन्य सुब्बा ताप्लेजुङ
१० डा. जीतेन्द्र महासेठ सिराहा
११ टिका गौचन म्याग्दी
१२ डम्बर खतिवडा सुनसरी
१३ तिलक थापा मगर मोरङ
१४ दलमर्दन कामी सुनसरी
१५ दुर्गा सोव डोटी
१६ देवेन्द्र पौडेल बाग्लुङ
१७ नत्थुप्रसाद चौधरी सप्तरी
१८ नारायण पाण्डे गोरखा
१९ पासाङ्ग शेर्पा ताप्लेजुङ
२० डा. प्रवीण मिश्र महोत्तरी
२१ मदन राई खोटाङ
२२ मनप्रसाद सुनुवार रामेछाप
२३ मुमाराम खनाल कपिलबस्तु
२४ डा. मुक्ति रिजाल अर्घाखाँची
२५ मोहनी महर्जन काठमाडौं
२६ डा. राजेन्द्र के.सी. धादिङ
२७ डा. रामकेवल साह धनुषा
२८ रामचन्द्र झा धनुषा
२९ रामेश्वर खनाल पाल्पा
३० लिली थापा काठमाडौं
३१ वज्रकिशोर यादव धनुषा
३२ विसन राई खोटाङ
३३ सरोज खनाल चितवन
३४ डा. सुरेन्द्र चौधरी दाङ
३५ हरेराम कोईराला गोरखा ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु