आज दुई सय बर्षयताकै शुभ दिन

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं, ८ बैशाख । आज बैशाख आठ गते करिब दुईसय बर्ष यताकै शुभ दिन रहेको ज्योतिषहरुले बताएका छन् । भारतीय ज्योतिषहरुले आउँदो अक्षय तृतीया एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन रहने दावी गरेका हुन् । बैशाख मासको शुक्ल पक्षको अक्षय तृतिया बैशाखको ८ गते मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा आउनेछ । यो दिन बिहानदेखि रातिसम्म शुभ संयोग रहने ज्योतिषहरुको भनाई छ । यस दिनमा मंगल कार्य, दान, भवन निर्माण र सवारी खरिदका लागि उत्तम रहेको छ । बिहान सवा ६ बजेदेखि दिउँसो पौने १२ बजेसम्म सर्वात्र सिद्धि र दिउसो १२:५८ बजेसम्म देखि सूर्यास्तसम्म रवि योगको विशिष्ट संयोग रहेको छ । भारतका प्रखर ज्योतिष पंडित अमर डब्बावालाका अनुसार सोही दिन दिउसो मंगलादित्य र बुधादित्यको महायोग पनि रहेको छ । मुहर्त तथा योगको यस्तो अद्वितिय संयोग धेरै बर्षमा मात्र आउने ज्योतिषहरुको भनाई छ । यो शुभ अवसरमा विवाह, गृह प्रवेश, गृह आरम्भ, उपनयन संस्कार, नयाँ वस्तुहरुको खरिद र अझ त्यसमा पनि सुन र पित्तलको खरिद अत्यन्तै फलदायी हुन्छ । यो दिन भएका शुभ कार्यले अरु बेलाभन्दा तीन गुना बढी फल दिने धार्मिक विश्वास रही आएको छ । यस दिन खरिद गरेको वस्तुले स्थायी समृद्धि प्रदान गर्नेछ । धर्म शास्त्रका अनुसार यस दिनमा घरमा जल भरिएको कलशमा सुगन्धीत द्रव्य र जौ हालेर, त्यसमा ऋतुफल हाली भगवान बिष्णुका साथै अन्य देवताहरुको नाम सम्झेर पुजा गरी ब्राह्मणलाई दान गर्नुपर्छ । त्यसैगरी, पितृको तृप्ति तथा प्रशन्नताको लागि ग्रहस्थ ब्राह्मणलाइ जलले भरिएको कलशमा कालो तिल राखेर त्यसमा बीजयुक्त फल राखी दान गरेमा सुःख र समृद्धी मिल्नेछ ।

प्रतिक्रियाहरु